रौतहट — रौतहटको चन्द्रपुर–१ स्थित पूर्वपश्चिम राजमार्गको बागमती खण्डमा सवारीको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयले गरेको राजमार्ग जाम खुलेको छ । झण्डै ६ घण्टापछि चक्काजाम खुलेको हो ।
प्रहरीले २४ घण्टाभित्र ठक्कर दिने सवारीको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने सहमति गरेपछि जाम खुलेको हो । प्रहरीले शंकास्पद सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
चन्द्रपुर–१ मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी ठक्करबाट बिहान मृत्यु भएको हो । करिब ४-५ बजेतिर घरबाट बाहिर निस्केको अवस्थामा राजमार्गमा सवारीले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिएर फरार सवारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए । ‘२४ घण्टाभित्र ठक्कर दिने सवारी नियन्त्रणमा लिने भन्ने सहमतिपछि बन्द बाटो खुलाइएको हो,’ उनले भने, ‘शंकास्पद सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’
प्रहरीले बिहानदेखि राजमार्गमा जडान गरिएको सीसी क्यामेरामार्फत जाँच गरिरहेको छ । ट्राफिक प्रहरीले पनि राजमार्गको सवारी जाँचलाई तीव्र पारेको छ । ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले राजमार्ग बन्द हुँदा ठूलो संख्यामा सवारीहरु बाटोमा अलपत्र परेको बताए । पैदलयात्रुलाई ठक्कर दिएपछि सवारी भागेको थियो । सहमतिपछि परिवारले पोस्टमार्टमका लागि शव अस्पताल ल्याउन दिएका छन् ।
