मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

जेष्ठ २७, २०८२

कमलेश ठाकुर

Madhesh Province policy and program passed

जनकपुरधाम — मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार प्रदेशसभामा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो ।

गएको शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा आव ०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उक्त नीति तथा कार्यक्रममाथि चार जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसपाका सांसद रामआशिष यादव, संजयकुमार यादव, किरण कुमारी र माओवादी केन्द्रका सांसद माला कर्णले संशोधन प्रस्ताव दर्ता गराएका थिए । रामआशिष, किरण कुमारी र माला कर्णले संशोधन प्रस्ताव फिर्ता लिएनन् । यी तीनै प्रस्ताव सभामुख रामचन्द्र मण्डलले निर्णयाथ प्रस्तुत गरेर खारेज गरेका थिए । 

सरकारले ल्याएको नीति तथा कार्यक्रममा मधेश आन्दोलन र जनयुद्धको जिकिर नगरेकाले त्यसलाई थप्नुपर्ने संशोधनकर्ता सांसदहरुको माग थियो ।

पहिचानमा स्थापित मधेस प्रदेश तथा स्थानीय तहमा बहुसंख्यकको मातृभाषा मैथिली, भोजपुरी, बज्जिकाको संरक्षण, संवर्द्धन तथा विकासको कुरा थप्नुपर्ने, कमला पुल निर्माणको कुरा थप्नुपर्ने संशोधनकर्ता सांसदहरुको प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री सतिशकुमार सिंहले ती प्रस्तावबारे चित्तबुझ्दो जवाफ नदिएकोले संशोधन प्रस्ताव फिर्ता नलिइएको संसद‌्मा बताएका थिए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully