पर्सा — वीरगन्ज महानगरपालिका–४ स्थित चिल्ड्रेन पार्क 'शंखधर साख्व: पार्क' को रूपमा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
शनिबार एक विशेष समारोहबीच खानेपानीमन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर पार्कको उद्घाटन गरे ।
यसअघि १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कलाई अतिक्रमण हटाउँदै विस्तार गरी अहिले करिब २ बिघामा फैलाइएको छ । अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रिया चलिरहेको छ ।
करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यीकरण गरिएको छ । पार्कमा पानीको फोहोरा, खुलामञ्च, वनभोजस्थल, नृत्यस्थल, टेबल टेनिस कोर्ट, योगस्थल र प्रभात यात्रा गर्न मिल्ने ट्र्याकसहितको सुविधा उपलब्ध छ ।
यसअघि ‘चिल्ड्रेन पार्क’ भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर साख्व: को नाममा नामकरण गरिएको हो । वीरगन्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मान स्वरूप पार्कलाई उनको नाममा समर्पण गरेको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पार्क केबल सौन्दर्यीकरणको परियोजना मात्रै नभइ यो वीरगन्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो रहेक समेत बताए ।
पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ । लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए । अब पार्कले पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्नेछन्।
शंखधर साख्व: पार्कको औपचारिक पुनः सञ्चालनसँगै वीरगञ्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव पूर्ति हुने विश्वास गरिएको छ ।
