अझै फेला परेनन् कोशीमा बेपत्ता गोताखोर

जेष्ठ २४, २०८२

विद्यानन्द राम

Missing diver in Koshi still not found

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जना गोताखोर अझै फेला पर्न सकेको छैनन् ।

मनसुनजन्य विपद् पूर्वतयारीका कार्यक्रम गर्न बिहीबार अभ्यास गरिरहँदा नम्बर १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी र नम्बर १३ गण पर्सा दरबन्दी भइ नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद बेपत्ता भएका थिए ।

उनीहरूको खोजी भइरहँदा शुक्रबार सशस्त्र प्रहरी जवान राजवंशीको शव घटनास्थल (कोशी ब्यारेज)देखि करिब ३ किलोमिटर दक्षिणतर्फ फेला परेपनि अर्का सशस्त्र प्रहरी जवान साउदको अवस्था भने अझै अज्ञात रहेको छ । साउदको खोजी कार्य जारी रहेको नम्बर ६ गण हेडक्वार्टर सप्तरीका एसपी ज्ञानमणि पौडेलले बताए । उनका अनुसार दन्तकाली तालिम शिक्षालय नम्बर ६ गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको खोजी गरिरहेको छ ।  

नदीमा शनिबार प्रदेशस्तरीय विपद् पूर्वतयारीका कार्यक्रम गर्ने तय भएपछि अभ्यास गरिरहेका दुवै जना ब्यारेजको ढोका नम्बर ५५/५६ देखि उत्तरतर्फ पानीको भूमरीमा फसेर बेपत्ता भएका थिए । घटनापछि विपद् पूर्वतयारीका कार्यक्रम स्थगित गरिएको एसपी पौडेलले बताए ।  

झापाका राजवंशी र डोटीका साउदले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully