जनकपुर — मधेश प्रदेश सरकारको योजना खरिद बिक्रीमा भएको अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ । बिहीबार प्रदेशसभामा १० सदसीय समिति गठन भएको हो ।
समितिले आर्थिक वर्ष २०८१/०८२ मा विकास योजना तथा कार्यक्रममा भएका अनियमिततासम्बन्धी छानबिन गर्नेछ । प्रदेशसभामा प्रतिपक्षी दलसँगै सांसदहरुले आवाज उठाएर अवरुद्ध गरेपछि प्रदेशसभा सञ्चालन नियामावलीको १५२ बमोजिम संसदीय विशेष छानबिन समिति गठन गरिएको हो ।
समितिमा सांसद केशव राय, कुमरकान्त झा, रहबर अन्सारी, किरण कुमारी, शम्भु कुमार साह, रमिता प्रधान, कनिष पटेल, उर्मिला सिंह, विमला अन्सारी र कञ्चन बिछा रहेका छन् ।
यसअघि गएको चैत २७ मा पनि सभामुख रामचन्द्र मण्डलले छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएका थिए । तर, सत्तारुढ दलले रुचि नदेखाएपछि समिति गठन हुन सकेको थिएन ।
भौतिक पूर्वाधार विकास मन्त्रालय र अर्थ मन्त्रालयका योजनामा अनियमतिता भएको सांसदहरुको आरोप छ ।
