रौतहट — रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना हुँदा सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । उनको छाति र दाहिने हातमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको पाखुरामा गम्भीर चोट लागेको थियो । दुर्घटनामा १८ वर्षीय रानिकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । दुवै खतरामुक्त रहेको प्रहरीले जनायो । घाइतेको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडीका चालक सर्लाही रामनगर– ३ का आकाश सिंहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए । ‘घटनाबारे चालकसित सोधपुछ गरिरहेका छौँ,’ उनले भने, ‘दुवै सवारीमा कस्को गल्ती र कसरी भयो भन्ने अनुसन्धान हुँदै छ ।’ दुर्घटनाको खबरलगत्तै प्रहरी निरीक्षक साजन साहको टोली दुर्घटनास्थल पुगेको थियो ।
