जनकपुर — मधेश प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक १ मिनेट पनि नबसी स्थगित भएको छ । योजना बिक्री र विभिन्न मन्त्रालयको बजेट खर्चमा अनियमितता भएको आरोप लगाउँदै विपक्षी दलहरूले संसदीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने अडान राखेपछि सभामुख रामचन्द्र मण्डलले बुधबार बसेको प्रदेशसभाको बैठक स्थगित गरेको हो ।
बैठक सुरु भएलगत्तै विपक्षी दल जनता समाजवादी पार्टी नेपाल(जसपा)का सांसदहरूले उभिएर विरोध जनाएका थिए । जसपाका प्रमुख सचेतक रामाशिष यादवले संसदीय छानबिन समिति नबनेसम्म बैठक रोक्न सभामुखसमक्ष माग गरेका थिए । उनको मागमा सहमति जनाउँदै सभामुख मण्डलले प्रदेशसभाको बैठक सुरु भएको १ मिनेट पनि नपुग्दै बैठक स्थगितको घोषणा गरे ।
‘चौथो अधिवेशनको अन्तिम २२ औं बैठकमा सरकारले गरेको गडबडी र आर्थिक अनुशासन उल्लंघनका मामिलामा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव पास भएको थियो,’ जसपाका प्रमुख सचेतक यादवले भने,‘विपक्षी दलले समितिमा रहने सांसदको नामसमेत पठाइसकेको छ । तर, सत्तापक्षले नाम नदिँदा १ महिना २४ दिन बित्दा पनि संसदीय छानबिन समिति गठन हुन सकेको छैन ।’
विपक्षी दलका नेताहरूले प्रदेशसभाको बैठकमा पास भएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्तावलाई नै असफल पार्ने सत्तापक्षले नाम नदिनु संसदको अपहेलना भएको बताइरहेको छन् । संसदीय छानबिन समिति गठनका लागि प्रदेशसभाको बैठक बस्नुअघि सभामुख मण्डलको कार्यकक्षमा ३ घण्टा छलफल भएको थियो ।
‘यसै विषयमा करिव ३ घण्टा हामी छलफल गर्यौं । तर निष्कर्षमा पुग्न सकेनौं,’ सभामुख मण्डलले भने,‘फेरि औपचारिक र अनौपचारिक बैठक बसेर संसदीय छानबिन समिति गठनका मामिलामा सहमति जुटाउने प्रयास हुनेछ । अहिले प्रदेशसभाको बैठक बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ ।’
