सिरहाबाट ठूलो परिमाणमा लागूऔषध र कारोबारी नियन्त्रणमा 

जेष्ठ २१, २०८२

विनय आजाद

A large quantity of drugs and dealers are under control from Siraha

सिरहा — सिरहाबाट ठूलो परिमाणमा लागूऔषध र एक कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा प्रहरीले लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट मंगलबार लागूऔषध र एक कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, मंगलबार बिहान १० बजेको समयमा लहान नगरपालिका-४ कुमाल टोलमा एक मोटरसाइकल र एउटा बोरा भेटिएको थियो । त्यसलाई खोलेर हेर्दा अनरेक्स नामक १ सय ९३ बोतल लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि यसका धनी लहान नगरपालिका-१९ का २२ वर्षीय मोहम्मद नसरूल रहेको खुलेको र उनलाई पनि सोही दिन दिउँसो लहानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

डीएसपी पासवानका अनुसार, गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पछ्याएको थियो । तर, प्रहरीलाई देखेपछि उनी लागूऔषध र मोटरसाइकल बाटोमै छाडी भागेर लुकेका थिए ।

सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully