मिलेमतोमा सवारी लिलाम : भन्सार प्रमुखले मोटरसाइकल लुकाएर लगिरहेको भिडियो भाइरल

जेष्ठ २०, २०८२

विद्यानन्द राम

Vehicle auction in Milematoma: Video of the customs chief hiding a motorcycle goes viral

सप्तरी — राजविराज भन्सार कार्यालयले मिलेमतो गरी सवारी लिलाम गरेको आरोप लागिरहँदा भन्सार प्रमुखले आफ्नो गाडीको ट्रलीमा मोटरसाइकल लुकाएर लगिरहेको भिडियो बाहिरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको सो भिडियोमा भन्सार प्रमुख सत्यनारायण सिंहले प्रयोग गर्ने बा २ झ १३४३ नम्बरको गाडीको ट्रलीमा नम्बर उल्लेख नभएको ‘हिरोको ग्ल्यामर’ मोटरसाइकल लुकाएर लगिरहेको देखिन्छ । 

भिडियोको पहिलो ‘क्लिप’मा भन्सार कार्यालयको परिसरमा रहेको सो गाडीको ट्रलीमा केही व्यक्तिले मोटरसाइकल र पोको पारिएका केही सामान लोड गरिरहेका छन् भने अर्को ‘क्लिप’ मा मोटरसाइकल र ती सामान त्रिपालले छोपेको अवस्थामा ती गाडी राजविराजतर्फ आइरहेको देखिन्छ ।      

शुक्रबार दिउँसो करिब ३ बजेतिर राजविराज हुँदै पश्चिमतर्फ निस्किएको सो गाडीमा भन्सार प्रमुख सिंह नै घर (धनुषा)तर्फ गइरहेको पुष्टि भएको छ । भन्सार प्रमुख सिंहले घरतर्फ गइरहँदा कार्यालयको ती मोटरसाइकल मर्मत गराउन बर्दिबास लगिरहँदा कसैले भिडियो खिचेर अनाहकमा भाइरल गरेको प्रतिक्रिया दिए । तर, उनले ग्यारेजको नाम र मोटरसाइकलको नम्बर याद नरहेको बताए । भन्सार कार्यालयमा त्यो अवस्थाको ‘हिरोको ग्ल्यामर’ मोटरसाइकल छ र ? भन्ने प्रश्नमा पनि प्रमुख सिंहले बोल्न चाहेनन् । 

Vehicle auction in Milematoma: Video of the customs chief hiding a motorcycle goes viral

भन्सारले जेठ ९ गते दोस्रो चरणमा लिलाम गर्दा २० मध्ये १३ वटा मोटरसाइकल एउटै व्यक्ति (मोरङको विराटनगर महानगरपालिका–१५ का अभिषेक चौधरी)को बोलपत्र स्वीकृत भएको छ भने १३ वटै मोटरसाइकल न्यूनतम मूल्यभन्दा एक/एक सय रुपैयाँ बढीमा मात्रै बोलपत्र स्वीकृत भएको छ । भन्सार कार्यालयबाट पहिलो चरणमा ५४ वटा मोटरसाइकल, ५ वटा ट्याक्टर, ६ वटा अटो र १ सय २८ वटा ‘स्क्र्याप’ का सवारी साधन मिलेमतोमा लिलाम भएको स्रोतको दाबी छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले ती विषयमा थप बुझ्ने कार्य भइरहेको बताए । ‘हामीले पनि सामाजिक सञ्जालमा त्यो भिडियो देखेपछि पहिलो चरणमा भन्सार प्रमुख सिंहसँग सोध्यौँ, मोटरसाइकल मर्मतका लागि लगिरहेको जवाफ आएको छ,’ उनले भने, ‘थप बुझ्ने कार्य भइरहेको छ । गलत गरेको पाइए कारबाही हुन्छ ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully