पर्सा — औषधि व्यवस्था विभाग वीरगन्ज शाखा कार्यालयका प्रमुख शम्भु साहसहित ५ कर्मचारीको टोली जेठ ५ गते रौतहटको राजपुर नगरपालिका–४ स्थित एक औषधि पसलको अनुगमनमा पुग्दा त्यहाँ स्थानीयको प्रतिकार खेप्नुपर्यो । विशेषगरी महिलाहरुले हुलहुज्जत गरेर आक्रमण गर्दा कार्यालयका दुई अधिकृत घाइते भए ।
उक्त दिन नेपाल प्रहरीका एक निरीक्षक सहितको टोली र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित अनुगमन टोली पुग्दा उनीहरु स्थानीयको आक्रोशको सिकार बन्नु पर्यो ।
डेढ वर्षअघि सर्लाहीमा पनि यसरी अनुगमनको क्रममा जाँदा कर्मचारीले असुरक्षा महसुस गरेका थिए ।
कार्यालय प्रमुख साहले रौतहटमा अनपेक्षित रुपमा भएको उक्त घटनाले ग्रामीण भेग र त्यसमा पनि सीमावर्ती गाउँमा कर्मचारीउपर आक्रमण हुन सक्ने जोखिम महसुस गरेका छन् । ‘सहरी क्षेत्रमा यो समस्या छैन,’ साहले भने, ‘तर ग्रामीण भेग र त्यसमा पनि सीमावर्ती गाउँमा अनुगमन जाँदा कर्मचारी असुरक्षित हुन सक्छन् ।’ यसरी अनुगमनमा जाने कर्मचारीको सुरक्षा व्यवस्था नभए अनुगमन कार्य नै प्रभावित हुन सक्ने सम्भावना छ ।
रौतहटमा भएको घटनाले कर्मचारीको मनोबल केही खस्किए पनि आफूहरु कार्यक्षेत्रमा खटिन दत्तचित्त रहेको उनले दाबी गरे । ‘त्यो घटनाले कर्मचारीको मनोबल केही खस्केको छ,’ उनले भने, ‘तर हामी हतास भएका छैनौं, अब अनुगमनमा जाँदा थप सुरक्षा व्यवस्था गरेर मात्र जानेछौं ।’
मधेशका सप्तरी र सिरहाबाहेक ६ जिल्ला तथा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली कार्यक्षेत्र भएको यो कार्यालयले चालु आर्थिक वर्षमा ४ सय ५० वटा औषधि पसलको अनुगमन गर्नुपर्नेमा हालसम्म ४ सय १० पसलको मात्र अनुगमन गर्न सकेको छ । वार्षिक लक्ष्य मात्र भेट्टाउन पनि कार्यालयले आर्थिक वर्षको बाँकी रहेको करिब ४० दिनमा थप ४० औषधि पसलको अनुगमन गर्नुपर्नेछ ।
शाखामा हाल आफ्नो कार्यक्षेत्रअन्तर्गत ९ जिल्लामा गरी ५ हजार ८ सय ६५ औषधि पसल दर्ता रहेका छन् । तीनमा एलोपेथिक, आयुर्वेदिक, युनानी र भेटेरिनरी औषधि पसल समेत छन् ।
कार्यालयमा चालु आवको दोस्रो त्रैमासिक अवधिसम्म १ सय ४५ खुद्रा र ५१ थोक गरी १ सय ९६ नयाँ औषधि पसल दर्ता भएका छन् । यसै अवधिमा ४५ खुद्रा र २८ थोक गरी ७३ औषधि पसल रद्दसमेत भएका छन् । यसै अवधिमा १ हजार ३ सय १३ औषधि पसलले नवीकरणसमेत गरेको कार्यालय प्रमुख साहले जानकारी दिए ।
