नेपाल-भारत समन्वय समिति बैठक,सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

कोभिडबाट हुन सक्ने सम्भावित जोखिम र दुवै मुलुकबीच अपनाउनुपर्ने सतर्कता लगायतका विषयमा छलफल

जेष्ठ २०, २०८२

शंकर आचार्य

Nepal-India Coordination Committee Meeting,A commitment to moving forward through collaboration

पर्सा — नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकले दुवै मुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार वीरगन्जमा सम्पन्न नेपाली र भारतीय सुरक्षा अधिकारीको सिमाना जिल्ला समन्वय समितिको बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् । बैठकमा दुवै मुलुकबीच अन्तरदेशीय अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि एकापसमा सूचना आदानप्रदान गर्ने प्रतिबद्धता अधिकारीहरुले व्यक्त गरेका छन् ।

बैठकमा सीमावर्ती भारतको विहारमा हुन लागिरहेको आसन्न विधानसभाको निर्वाचनको शान्ति सुरक्षाको विषयमा भारतीय पक्षले आफ्नो अपेक्षा समेत राखेको थियो । त्यसमा नेपाली पक्षले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । 

बैठकमा कोभिडबाट हुन सक्ने सम्भावित जोखिम र दुवै मुलुकबीच अपनाउनुपर्ने सतर्कताका विषयमा पनि छलफल भएको थियो । नक्कली मुद्राको अपचलनको विषयमा पनि दुवै पक्षबीच सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणका विषयमा पनि छलफल भएको थियो । 

बैठकमा भन्सार, वन लगायतका दुवै मुलुकका प्रतिनिधिबीच सीमा क्षेत्रमा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र विपद्जन्य गतिविधिमा दुवै पक्षबीच मानवतावादी कार्यमार्फत मानवीय जनधनको जोगाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा सिर्सिया नदी प्रदूषण, अवैध व्यापार नियन्त्रण, मानव बेचबिखन, विपद्मा उद्धार र सहयोग, नक्कली मुद्राको अपचलन लगायतका विषयमा छलफल भएको थियो । 

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका प्रजिअ वसन्त अधिकारी, दुवै जिल्लाका नेपाल र सशस्त्र प्रहरीका प्रमुख सहभागी थिए । भारत बिहार पूर्वी चम्पारण जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट सौरभ जौरवाल, पश्चिम चम्पारणका डेपुटी डेभलपमेन्ट कमिसनर सुमित कुमार र भारतीय अर्धसैनिक बल एसएसबीका अधिकारीहरु सहभागी थिए । 

शंकर

Link copied successfully