सर्लाही — तराई मधेशमा वर्षा मौसममा हुने डुबान तथा सुक्खा मौसममा हुने आगलागी नियन्त्रणका लागि नेपाली सेनाले सोमबार प्रदेशस्तरिय विपद् तयारीको पूर्वअभ्यास गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाको बीच भएर बग्ने बागमती नदीमा नेपाली सेनाले बाढी, डुबान तथा आगलागीजस्ता विपद्को पूर्वतयारी अभ्यास गरेको हो । यस वर्ष अधिक वर्षा हुने भएकाले सम्भावित डुबान क्षेत्रमा नागरिकको उद्घार तथा आगलागीको जोखिम नियन्त्रणमा लागि पूर्वतयारी स्वरुप नमुना अभ्यास गरिएको मध्यपूर्वी पृतना बर्दीवासका पृतनापति कृष्णबहादुर जीसीले जानकारी दिए । पूर्वतयारी अभ्यास अन्तर्गत वर्षाको मौसममा नदीमा अत्यधिक बाढी आएर भएको डुबानमा नागरिकको उद्धार तथा सुक्खा मौसममा घर तथा बस्तीमा लागेको आगो नियन्त्रणका उपाय लगायतका अभ्यास गरिएको थियो ।
विपद्को पूर्वतयारी अभ्यास कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वर्षाका बेला डुबान प्रभावित क्षेत्रमा सेनाले क्याम्प नै खडा गरेर नागरिकको उद्धार गर्नमा जोड दिए । ‘यस वर्ष ठूलो मात्रामा पानी पर्ने मौसमविद्को प्रक्षेपण छ, जसले जनधनको क्षति हुने सम्भावना छ, यसलाई न्यूनीकरणको प्रयासमा सबैजना लाग्नुपर्छ,’ उनले भने, ‘वर्षाको बेला सेनाले प्रभावित क्षेत्रमा क्याम्प नै खडा गर्नुपर्छ अनि मात्र नागरिकको सही समयमा उद्धार हुन सक्छ ।’
गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विपद् तीनै तहका सरकारको प्रथमिकतामा नै नरहेका कारण प्रत्येक वर्ष उद्धार कार्यमा कठिनाइ हुने गरेको बताए । साधनस्रोतको अभावले पनि विपद्का घटनामा तत्काल उद्धार गर्न समस्या रहेको उनको भनाइ छ ।
विपद्को पूर्वतयारी अभ्यासमा नेपाली सेना, रेडक्रस र अग्नि नियन्त्रकको सहभागिता रहेको थियो । डुबानमा उद्धार तथा अग्नि नियन्त्रणका उपायसँगै यसमा प्रयोग हुने उपकरणका बारेमा प्रदर्शनी गरिएको थियो ।
