पीडित परिवार र आफन्तद्वारा नगरपालिका कार्यालयको मूल गेटमा अनशन
सप्तरी — हुलाकी राजमार्गअन्तर्गत बोदे बरसाइन नगरपालिका–५ स्थित भएको दुर्घटनामा परेर घाइते भएका १५ वर्षीय राजेशकुमार यादव उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन पाएका छैनन् । गत माघ १ गते मंगलबार बिहान जनकपुरतर्फ गइरहेको स १ झ ४८१ नम्बरको राजविराज नगरपालिकाको स्कर्पियोले को ३० प २७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते हुन पुगेका थिए ।
दुर्घटनामा उनीसँगै अर्का २१ वर्षीय अजितकुमार यादव पनि घाइते भएका थिए । उनलाई समान्य चोट लागेकाले उपचारपछि दुर्घटनाको केही दिनमै उनी घर फर्किए । तर, गम्भीर घाइते राजेश थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएका थिए । अहिले उनी निको भइसक्दा पनि अस्पताल र फार्मेसीको बिल तिर्न नसक्दा घर फर्किन पाएका छैनन् ।
न्यायका लागि गुहार मागिरहेका पीडित परिवार र उनका आफन्तले आइतबार नगरपालिका कार्यालयको कामकाज ठप्प पारेका छन् । आइतबार कार्यालय खुल्नुअघि नै मूल गेटमा अनशन बस्दा कर्मचारीहरु कार्यालयमा पस्न पाएनन् । पीडित परिवार र उनका आफन्तले अनशनस्थलमै खाना पकाएर खाएका छन् भने उपचार खर्च नपाएसम्म अनशन जारी राख्ने अडान लिएका छन् ।
आइतबार बेलुका अनशनस्थलमा आएकी कार्यवाहक नगर प्रमुख इसरत प्रविनले अनशन स्थगित गर्न आग्रह गर्दै अस्पताल र फार्मेसीको बिल तिरेर राजेशलाई डिस्चार्ज गराउन प्रयास गर्ने प्रतिबद्धता जनाइन् । यद्यपि, पीडित परिवार भने राजेशलाई डिस्चार्ज नभएसम्म अनशन जारी नै राख्ने अडानमा छन् ।
नगरपालिका कार्यालयको मूल गेटमा आइतबार उपचार खर्चकाे माग गर्दै अनशनमा बसेका पीडित परिवार र उनका आफन्त
राजेशको ३८ दिनसम्म आईसीयूमा राखेर उपचार हुँदा अस्पताल र फार्मेसीको बिल जोडेर २७ लाख रुपैयाँ भइसकेको बुवा रघुनाथ यादवले बताए । ‘छोराको हात–खुट्टामा स्टिल लगाइएको छ र घरै लगेर शारीरिक व्याम गराउनू भनी चिकित्सकले दुई महिनाअघि नै डिस्चार्ज गर्न भनिसक्नुभएको छ,’ उनले भने, ‘तर, उपचार र औषधिको बिल जोड्दा त २७ लाख रुपैयाँ भइसकेको छ । हामीसँग तिर्ने सामर्थ नभएर डिस्चार्ज गराउन सकिनँ ।’
पत्नी शान्तिदेवीलाई छोराको रेखदेखमा राखेर रघुनाथ उपचार खर्च माग्न नगरपालिका कार्यालय धाउन थाले । पटकपटक कार्यवाहक नगर प्रमुख इसरत प्रविनलाई भेट गर्दा उनले २ लाख रुपैयाँ पाए पनि बाँकी रकम तिर्न आनाकानी गर्दै आएको रघुनाथले दुखेसो पोखे । ‘बाध्य भएर गाउँलेको सल्लाहअनुसार गत बुधबारदेखि यहाँ रिले अनशन सुरु गरें’ उनले भने, ‘त्यो दिन छोरालाई ठक्कर दिएर पनि उनीहरु भागिहाले, अहिले फेरि पैसा दिने बेला भाग्न खोज्दैछन् ।’
अस्पतालका एक कर्मचारीले १ सय ३० दिनदेखि अस्पतालमा रहेका राजेश ‘रिकभर’ भइसकेको बताए । ‘बिल नतिरेर उनी डिस्चार्ज नभएको हुन सक्छन्,’ उनले भने । अस्पतालका प्रबन्धक केदार पोखरेलले आफू बाहिर रहेको भन्दै भोलि (सोमबार) मात्रै बिरामीको विषयमा जानकारी दिन सक्ने बताए ।
