पर्सा — रासायनिक मलको उच्च माग हुँदा मलको कारोबार गर्ने दुई सरकारी संस्थान कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका सीमा नाकामा रहेका गोदाम भरिन नपाउँदै रित्तिने गरेका छन् ।
वीरगन्जस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मधेश प्रादेशिक कार्यालयको गोदाममा हाल १ हजार ३ सय ३८ टन मत्र युरिया मल मौज्दात रहेको छ । साल्टले ग्लोबल टेण्डरबाट एक महिनायता ३० हजार टन युरिया मल भित्र्याएकोमा त्यसमध्ये प्रादेशिक कार्यालय वीरगन्जले ११ हजार ८ सय ४३ टन युरिया मल पाएको थियो ।
कार्यालयले पाएको युरिया मलमध्ये ६ हजार ४ सय २८ टन मल मातहतका जिल्ला कार्यालयहरुमा तथा २ हजार ८ सय ९३ टन वीरगन्ज कार्यालयबाट पर्सा जिल्लाका लागि गरी ९ हजार ३ सय २० टन मल परिचालन गरिसकेको छ ।
१० प्रतिशत मल बफर स्टकका लागि मौज्दात गरेपछि हाल कार्यालय गोदाममा जम्मा १ हजार ३ सय ३८ टन मात्र युरिया मल मौज्दात रहेको कार्यालयका सूचना अधिकृत सन्जय प्रसाद गुप्ताले जानकारी दिए ।
उनले मातहतका जिल्लाहरुबाट युरिया मलको माग उच्च रहेकाले कोटा पाइसकेका जिल्लाहरुमा तत्कालै मल परिचालन गर्ने गरिएको बताए ।
‘हामीले कोटा प्राप्त जिल्लाहरुबाट माग आए लगत्तै मल परिचालन गर्नु पर्छ,’ उनले भने, ‘हाल पहाडी जिल्लाहरुमा चैते धान र मकै बालीका लागि अहिले युरिया मल चाहिएको छ ।’ पाइपलाइनमा रहेको २५ हजार टन युरिया मलको कन्साइन्मेन्टको अझै ट्टुंगो छैन ।
साल्टले ग्लोबल टेण्डरबाट भित्र्याउन लागेको उक्त मल अझै भारतीय बन्दरगाहसम्मै आइनसकेको गुप्ता बताउँछन् । यता कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जसँग हाल ११ हजार २ सय टन डिएपी मल मौज्दात छ । यो मलको अहिले माग छैन । युरिया मलको माग रहेको बेला कार्यालयसँग जम्मा १ सय ३८ टन मात्र युरिया मल मौज्दात रहेको छ ।
कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार, कम्पनीले ग्लोबल टेण्डरबाट भित्र्याउन लागेको युरिया मल सातायता भित्रिन थालेको छ ।
सन इन्टरनेशनल कम्पनी आपूर्तिकर्ता रहेको उक्त कन्साइन्मेन्ट अन्तर्गत ३ र्याक युरिया मल वीरगन्ज नाकामा आइपुगेको छ । तर कार्यालयको गोदाममा उक्त मल भित्रीसकेको छैन ।
साउदी अरेबियाबाट ल्याइएको उक्त मल भित्रिएलगत्तै परिचालन भई सक्किने सम्भावना रहेको छ । बागमती प्रदेशबाट निरन्तर युरिया मलको माग आएपछि हाल भित्रीनसकेको युरिया मलबाट कट्टा हुने गरी कार्यालयसँग मौज्दात रहेको थोरै युरिया मल त्यता पठाउन थालिएको पाण्डेले बताए ।
पहाडी जिल्लाहरुमा विशेषगरी मकै बालीका लागि युरिया मलको माग रहेकाले भित्रिन लागेको युरिया मल माग भएका जिल्लाहरुमा तत्कालै परिचालन गर्ने योजना रहेको उनले बताए ।
