महोत्तरीमा ईभी कारबाट ४० किलो गाँजा बरामद

जेष्ठ १७, २०८२

सन्तोष सिंह

40 kg of ganja recovered from an EV car in Mahottari

महोत्तरी — बर्दिवासबाट भारततर्फ ईभी कारमा गाँजा लिएर जाँदै गर्दा एक जना पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले माईस्थानबाट गौशालातर्फ आउदै गरेको बा ०१–०३० च ७८०५ नम्बरको सेतो रंगको ईभी कारलाई रोकी चेकजाँच गर्दा अबैध लागुऔषध गाँजा ८ पोकाभित्र ४० किलो ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

कारभित्र कालो झोला, जेब्रा झोला र डिकीमासमेत सेतो प्लाष्टिकले बेरेको खरानी रंगको प्लाष्टिकको डोरीले बाँधी लुकाई छिपाई राखेको अवैध लागुऔषध गाँजासहित महोत्तरी बर्दिवास ११ का ३१ वर्षीय रंगलाल सेङतानलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

बरामद अवैध लागूऔषध गाँजा, ईभी कार र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महोत्तरीमा दिनहुँ लागुऔषध गाँजा तस्करीमा संलग्न पक्राउ पर्न थालेको छ । शुक्रबार साँझ रामगोपालपुर, बिहीबार जलेश्वरमा गाँजा बरामद भएको थियो । केही दिन अघि बर्दिवासमा स्कर्पियोबाट १५८ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको थियो ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully