वन महोत्तरीका कर्मचारीमाथि कार्यालयमै हातपात

जेष्ठ १६, २०८२

सन्तोष सिंह

Manipulation of Forest Department staff in the office

महोत्तरी — आफूमाथि कार्यालय परिसरभित्रै हातपात भएकाले शान्ति सुरक्षाको माग गर्दै डिभिजन वन कार्यालय महोत्तरीका लेखा अधिकृत रामसुलित महत्तोले जिल्ला प्रशासन कार्यलयमा निवेदन दिएका छन्। निवेदनमा उनले निर्माण व्यवसायी दिनेश चौधरीले हातपात र गालीगलौज गरेका बताएका छन्।

मंगलबार ११ बजे कार्यकक्षमै निर्माण व्यवसायि चौधरीले गालीगलौज र हातपात गर्दै ज्यान मार्ने धम्की दिएपछि तत्कालै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गरेको लेखा अधिकृत महतोले बताए।

हरित पार्क निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी चौधरीले कार्यकक्षमै हातपात गर्दा कार्यालय प्रमुख अजय मिश्रले कुनै प्रतिक्रिया नजनाएको आरोप पनि उनको छ। उनले हरित पार्क निर्माण गर्न २.५ फिट माटो हाल्नुपर्नेमा १.५ फिट मात्रै माटो हालिएको, रंगीन जिकज्याक ब्लक लगाउनुपर्नेमा समान्य ब्लाक राखेर निर्माण सम्झौता विपरीत भुक्तानीका लागि दबाब दिएको आरोप पनि लगाएका छन्।

भुक्तानीका लागि ठेकेदार चौधरीका अलवा इन्जिनियर राकेश पाण्डे, कार्यालय प्रमुख अजय मिश्रले  दबाव दिएको र भुक्तानी प्रक्रिया पूरा नभएको कागजातबारे सोधीखोजी गर्दा आफूमाथि हातपात भएको महतोको आरोप छ। हातपात हुँदा बचाउन आएका वनरक्षकलाई समेत कार्यालय प्रमुख मिश्रले सरुवा गरेको उनले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले डिभिजन वन कार्यालय असमझदारी रहेको र समस्या बुझ्ने क्रममा रहेको बताए । उनका अनुसार यसबारे बुझ्न प्रमुख मिश्रलाई बोलाइएको छ। कार्यालयमा भएको विवादबारे मिश्रले आफूले यसबारे तत्काल अहिले नबताउने बताए।

निर्माण व्यवसायी दिनेश चौधरीले मंगलबार कार्यालयमा पुगेर भुक्तानी कहिलेसम्म हुने मात्रै सोधेको बताउँदै कर्मचारीलाई गालीगलौज, हातपात र धम्की नदिएको बताए । प्रदेश सरकारले जलेश्वरमा हरित पार्क निर्माणका लागि २० लाख रुपैयाँ छुट्याएको थियो ।

एनके कन्सट्रक्सन जलेश्वरले १९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा पार्क निर्माणको ठेक्का पाएको थियो। १७ सय वर्ग मिटर क्षेत्रफलमा माटो पुरेर पीसीसी ढलान, ब्लक लगाएर बृक्षारोपण गर्ने योजना गरहेको वन अधिकृत बेचु कुमार मिश्रले बताए ।

वन डिभिजन कार्यालयले ठेक्का प्रक्रियामा सिमित निर्माण व्यवसायीबीच प्रतिपर्स्धा गराउने कार्यशैली अपनाएको र निर्माण व्यवसायीबाट ठेक्का सम्झौता अगावै आर्थिक लेनदेन गरेको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

कार्यालय परिसरमा ५० लाख बजेटको भवन ठेक्का ४० प्रतिशत बिलो (कम) रकममा ठेक्का लागेको छ, तर माटोको काम हुने पार्क निर्माण २० लाख बजेटमा ४ हजार मात्रै घटाएर ठेक्का सम्झौता हुनु नै शंकाको घेरामा रहेको यहाँको कर्मचारी बताउँछन् ।

डिभिजन वन कार्यालय महोत्तरीले पार्क निर्माण गर्न २०८१ माघ २३ गते सूचना प्रकाशन गर्दा ५ वटा विड परेको र प्रतिस्पर्धामा ३ वटा विडरले मात्रै भाग लिएको पाइएको छ । प्रक्रियामा भाग लिएका तीन वीडरमध्ये कोरम पुगाएर न्युन बजेट (लो बीडर)लाई काम गर्ने सम्झौता गरिएको छ।

१९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा सम्झौता भएको पार्क निर्माणको १६ लाख ४४ हजार रनिङ बिल भुक्तानी गराउन लेखा अधिकृत महतोलाई निर्माण व्यवसायी चौधरी र कार्यालय प्रमुख मिश्रले दबाब बनाएको छ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully