मानव सेवा आश्रम वीरगन्जद्वारा ८ वर्षको अवधिमा २ सय ९२ जनाको उद्धार 

जेष्ठ १५, २०८२

शंकर आचार्य

Rescue of 292 people during 8 years by Manav Seva Ashram Birganj

पर्सा — मानव सेवा आश्रम वीरगन्जले ८ वर्षको अवधिमा २ सय ९२ जना सडक मानवको उद्धार गरेको छ । मानवसेवा आश्रम वीरगन्जको तथ्यांक अनुसार, २०७४ जेठ १५ स्थापना भएको शाखाले हालसम्म २ सय ९२ जनाको उद्धार गरेको हो ।

तीमध्ये १ सय २५ जनाको सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । ३६ जनाले आश्रममै देहत्याग गरेका छन् । ८४ जनाको सामुदायिक पुन:र्स्थापना गरिएको छ । हाल मानवसेवा आश्रम सिर्सियामा ४७ महिला, पुरुष र बालबालिका आश्रित छन् ।

२०७४ जेठ १५ गते शाखाले वीरगन्जस्थित नारायणी अस्पताल परिसरबाट शंकर नाम गरेका एक अपांगता भएका युवकलाई उद्धार गरी मानवसेवा आश्रम वीरगन्जको सेवा सुरुवात गरिएको थियो । त्यसयता आश्रमले खुल्ला आकाश मुनी सडकपेटी तथा सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडक आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरुको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवम् पारिवारिक पुनर्मिलनको काम गराइरहेको जनाएको छ । 

आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार, २०७४ देखि ०७९ सम्म ५ वर्ष वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास पछाडीको एक घर भाडामा लिएर आश्रम संचालन गरिएको थियो । ०८० देखि वीरगन्ज–२५ सिर्सियामा वृद्धाश्रमको लागि बनेको घरमा हाल आश्रम संचालन भइरहेको छ । 

वीरगंज –१५ लक्ष्मणवामा वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँको लागतमा आश्रमको आफ्नै सुविधासम्पन्न भवन निर्माणाधीन छ । 

मानवसेवा आश्रमले ०८२ सालभित्र नेपालभर घरपरिवारविहीन, परित्यक्त, बेसहारा एवं असहाय मानवरहित राष्ट्र नेपाल निर्माण गर्न आफ्नो क्षेत्रबाट सातैवटा प्रदेशका २१ वटा जिल्लाहरुमा २७ वटा सेवा केन्द्रहरु सन्चालन गरी सहयोगापेक्षीलाई सेवा उपलब्ध गराइरहेको बताएको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully