हुलाकी सडक : चार जिल्लामा एक दशकको अवधिमा ८५ प्रतिशत प्रगति

जेष्ठ १५, २०८२

शंकर आचार्य

Postal Roads: 85% progress in four districts within a decade

पर्सा — मधेश प्रदेशका ४ जिल्लामा १ दशकमा हुलाकी सडक निर्माणको प्रगति ८५ प्रतिशत रहेको छ । रौतहट, बारा, पर्सा र चितवनमा ४ जिल्लामा एक दशकमा हुलाकी सडकले पूर्णता पाउन नसकेको हो ।

तराईको लाइफलाइन मानिने हुलाकी सडकको प्रगति सबैभन्दा बढी पर्सा र बारामा जिल्लामा छ । रौतहट र चितवन जिल्लामा बाँकी रहेको केही निर्माण कार्यले पूर्णता पाउन नसक्दा हुलाकी सडकको काम शतप्रतिशत सम्पन्न हुन नसकेको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका इन्जिनियर धर्मेन्द्र कुमार दासका अनुसार, २०७० साल देखि हुलाकी सडकको काम सुरु गरिएको हो । यस अवधिमा कार्यालयको कार्य क्षेत्र रहेको चार जिल्लामध्ये सबै भन्दा बढी काम हुन नसकेको जिल्ला चितवन हो । 

हुलाकी सडक अन्तर्गत चितवनमा ठोरी–माडी १५ किलो मिटर सडक खण्डको काम अझै सुरु हुन सकेको छैन । चितवन राष्ट्रिय निकुन्ज अन्तर्गत पर्ने यो सडक खण्डको डिपिआर तयार भइसकेको छ । यस पछि गरिने टेण्डर प्रक्रियाको अहिले सुरुवात नै भएको छैन । चितवनकै पतरी खोलामा ठेकेदार लोहनी एण्ड ब्रदर्शले हालसम्म कामलाई पूर्णता दिएको छैन । 

एक स्पान मात्र भएको उक्त पुलको पिलर उभ्याउनेबाहेक अन्य काम ठेकेदारले गरेको छ । समग्रमा उक्त पुलमा १४ प्रतिशत मात्र कामको प्रगति हुन सकेको छ । ४१ दशमलव २ मिटर लामो उक्त पुलको ठेक्का लोहनी एण्ड ब्रदर्शले ३ करोड ८४ लाख २५ हजार ४ सय ६१ रुपैयाँमा सकार गरेको थियो । 

कार्यालयले ठेकेदार कम्पनीसँग ग्यारेन्टी रकम र मोबिलाइजेशन रकमसमेत फिर्ता लिइसकेको इन्जिनियर दासले बताए । चितवनकै माडीमा घाँघर खोला, बगही खोला र भालु खोलामा ९० प्रतिशत काम सम्पन्न भएको छ । माडीमै निर्माणाधीन हुलाकी सडकको ७ किमी सडक खण्डको ५० प्रतिशत प्रगति भएको छ ।

हुलाकी सडक अन्तर्गत रौतहटमा बागमति खोलामा अझै पुल निर्माण भइनसकेको इन्जिनियर दास बताउँछन् । यसअघि लुम्बिनी बिल्डर्सले ठेक्कामा लिएको उक्त पुलको काम उक्त ठेकेदारबाट सम्पन्न हुन नसकेपछि दोस्रो पटक महालक्ष्मी/वाइपि/विकास ज्वाइन्ट भेन्चरको कम्पनीले पुल निर्माणको ठेक्का पाएका छन् । ६ सय ३४ मिटर लामो उक्त पुलमा हालसम्म २० प्रतिशत मात्र प्रगति भएको छ ।

पर्साको ठोरीमा करीब ४ किमी सडक र २ वटा पुल निर्माण बाँकी रहेकोमा आउँदो वर्षमा उक्त बाँकी काम पूरा हुने सम्भावना रहेको इन्जिनियर दास बताउँछन् । कार्यालयले चारवटा जिल्लामा बाँकी रहेको निर्माण कार्य सक्दो छिटो सम्पन्न गर्न सक्दो प्रयास गरी रहेको उनले बताए । ‘कार्यालयले प्राविधिक काम मात्र हेर्ने हो,’ उनले भने, ‘भौतिक निर्माणका लागि चाहिने साइट र बजेट लगायतका विषय संघीय सरकारले व्यवस्थापन गर्ने हो ।’

 चितवनमा प्रायः चितवन राष्ट्रिय निकुञ्जबाट काममा अवरोध आउने गरेको गुनासो निर्माण व्यवसायीबाट आउने गरेता पनि सकेसम्म विवाद समाधान गरेर काम सम्पन्न गर्ने प्रयास कार्यालयले गरी रहेको उनले बताए । हुलाकी सडक निर्माण भएपछि विशेष गरी पूर्वपश्चिम राजमार्गमा रहेको चाप धेरै हदसम्म घट्ने छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully