महोत्तरी — महोत्तरीको बर्दीबासबाट ठूलो परिमाणको गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दीबास–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दीबास चोकबाट लुकाएर पूर्वतर्फ लग्दै गरेको ३० पोका गाँजा (कुल १ सय ५० केजी) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दीबासबाट लागूऔषध नियन्त्रण ब्युरोसहित इलाकाका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले बा११च ३४९४ नम्बरको सेतो रंगको स्करपियो रोकी जाँच गर्दा पछाडिको सिटको तलपट्टि लुकाई–छिपाई राखिएको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिएका छन् ।
गाँजासहित स्करपियो चालक सर्लाहीको हरिवन–५, घुर्कौलाका ३५ वर्षीय लालबाबु साह र सोही गाडीमा सवार हरिवन–३ का २१ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सवारीसाधनसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको भट्टले जानकारी दिएका छन् ।
