चन्द्रनहरका जीर्ण संरचना जापानको सहयोगमा पुनर्निर्माण गरिंदै

जेष्ठ १४, २०८२

विद्यानन्द राम

The dilapidated structure of Chandranahar is being reconstructed with the help of Japan

राजविराज — सप्तरीस्थित मुलुकको पहिलो सिंचाई प्रणाली चन्द्रनहरमा जीर्ण बनिसकेका संरचनाहरू जापान सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ। जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) ले हाज्मा एन्डो कर्पोरेसन र एनटिसी इन्टरनेशनल जापानसँगको सहकार्यमा पुनर्निर्माण कार्य गराइरहेको हो ।

विक्रम सम्बत् १९८५ मा सञ्चालनमा आएको २८ किलोमिटर लामो चन्द्रनहरले कूल १० हजार ५ सय हेक्टर जग्गामा सिंचाई पुर्‍याउँदै आएको थियो । तर, नहर जीर्ण हुँदा अहिले ‘कमाण्ड एरिया’को ५० प्रतिशत पनि सिंचाई पुर्‍याउन कठिन भइरहँदा जाइकाले थालेको पुनर्निर्माण कार्यले केही हदसम्म मद्दत पुग्ने कोसी पम्प, चन्द्रनहर सिंचाई व्यवस्थापन कार्यालय राजविराजका प्रमुख एकराज भट्टराईले बताए ।

‘इर्स्टन तराई रिह्याबीटेशन इरिगेशन प्रोजेक्ट अन्तर्गत अहिले जापान सरकारले चन्द्रनहरमा पुनर्निर्माणका कार्य गराइरहेका छन्,’ उनले भने, ‘८ वटा नहरमुनि पास, ९ वटा क्रस निकास र १५ वटा नहर क्रसिङ्ग पुल गरी ३२ वटा संरचनाहरु निर्माण गर्नेछन् भने तीमध्ये अधिकांश संरचना तयार भइसकेको छ ।’

उनले सो संरचना तयार हुँदा ६०/६५ प्रतिशत ‘कमाण्ड एरिया’सम्म सिंचाईको सुविधा पुर्‍याउन सकिने बताए । ‘अझ संरचनाहरुको आवश्यकता छ तर बजेट अभावले काम गर्नै सकेको छैन्’ उनले थपे, ‘त्यसका लागि नेपाल सरकारले प्रस्ताव लेखनसहित प्रयास गरिरहेको छ ।’

आउँदो साउन १५ गतेसम्म सबै संरचनाहरु पूर्ण रुपले तयार भइसक्ने एनटिसी इन्टरनेशनलका वरिष्ठ प्राविधिक नाकडा शिगेरुले जानकारी दिए । दुई अर्ब २५ करोड ६० लाख जापानी येन (दुई अर्ब १५ करोड ४४ लाख ९३ हजार ७ सय २० नेपाली रुपैयाँ) को लगानीमा सञ्चालित सो परियोजनामा खटाइएका प्राविधिक र प्रविधि पनि जापानकै छन् ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully