जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

जेष्ठ १४, २०८२

शंकर आचार्य

One person died in Parsa after being attacked by a wild elephant

पर्सा — पर्सा राष्ट्रिय निकुन्जमा कुरिलो टिप्न गएका एक जनाको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

जेठ ९ गतेको समयमा पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जंगलमा मकवानपुर मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्यामबहादुर भुलन, ६० वर्षीय भक्तबहादुर आले र ५१ वर्षीय श्रवण भुलनसमेत गरी ३ जना कुरिलो खन्न गएका थिए । त्यसैबेला अचानक जंगली हात्ती आई श्यामबहादुर भुलनमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो । 

बाँकी दुई जना ज्यान जोगाउन सफल भएको घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा मंगलबार जानकारी प्राप्त भएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का लगायतका कार्यहरू गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा पठाएर थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully