सिरहा नगरपालिकामा दोस्रो दिन पनि अख्तियारको टोली

जेष्ठ १३, २०८२

विनय आजाद

On the second day, the authority team in Siraha Municipality

सिरहा — सिरहा नगरपालिकाको कार्यालयमा दोस्रो दिन पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । अख्तियारको बर्दिबासस्थित कार्यालयको टोली मंगलबार पनि नगरपालिका पुगेको हो ।

अख्तियार स्रोतका अनुसार, नगरपालिकाबाट अख्तियारको टोलीले उजुरी परेका केही योजनासँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । नगरपालिकामा विभिन्न योजनामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

अख्तियारको बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेल भने यस विषयमा स्पष्ट जवाफ दिएनन् । 'हाम्रो टोली गइरहन्छ, फिल्डमा तीन चार वटा टोली छ, गएको हुनसक्छ,' उनले भने ।

अख्तियारको टोली सोमबार पनि नगरपालिका पुगेको थियो । त्यसक्रममा राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully