पत्रकारलाई सिरहाका मेयरको धम्की : मविरुद्ध नलेख्नुस्, भयानक परिणाम भोग्नुपर्छ

उनले भिडियोमा भनेका छन्- 'मेरो पालिकाविरुद्ध कसैले लेख्छ भने मलाई यसबाट डर छैन, पत्रकारहरू डराउनुपर्छ'

जेष्ठ १३, २०८२

विनय आजाद

Mayor of Siraha threatens journalists: Do not write against me, you will face dire consequences

सिरहा — सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफूविरुद्ध समाचार लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । मेयर यादवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको छ ।

अख्तियार बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले नै पुष्टि गरेपछि सञ्चारमाध्यमले यसबारे समाचार प्रकाशित गरेको थियो । तर, यो कुरा अनर्गल प्रचारबाजी भएको भन्दै मेयर यादवले पत्रकारलाई भारी पर्ने चेतावनी दिएका हुन् । 'मेरो पालिकाविरुद्ध कसैले लेख्छ भने मलाई यसबाट डर छैन, पत्रकारहरू डराउनुपर्छ,' उनले भिडियोमा भनेका छन्, 'पत्रकारहरूलाई भारी पर्छ, यसको परिणाम भयानक हुन्छ ।'

यसरी आफूविरुद्ध लेखिरहे पत्रकारलाई दण्ड र जरिवाना गराउने उनको चेतावनी छ । 'म चेतावनी दिन चाहन्छु, मेरो कार्यकालमा मेरो पालिकाविरुद्ध जथाभावी नलेख्नुस्,' उनले भनेका छन्, 'यस्तो गर्नेलाई भारी जरिवाना र दण्ड दिलाउने गरी म अगाडि बढ्नुपर्ने हुन्छ ।'

मेयर यादवको यो अभिव्यक्तिप्रति सिरहाका सञ्चारकर्मीहरूले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ, सिरहाका अध्यक्ष मनोज बनैताले मेयरको गैरजिम्मेवार र धम्कीपूर्ण चेतावनी आपत्तिजनक रहेको बताए ।

'मैले मेयरको भिडियो हेरेँ, उनको अभिव्यक्ति आपत्तिजनक छ, अक्षम्य छ, यो अज्ञानता र दम्भको पराकाष्ठा हो,' अध्यक्ष बनैताले कान्तिपुरसित भने, 'यस विषयमा महासंघ आवश्यक कदम चाल्छ ।'

यस विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर यादव सम्पर्कमै आउन चाहेनन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully