मन्त्रीका स्वकीय सचिव सिंह भन्छन् – यो त्यति ठूलो कुरा होइन, यस्तो भइरहन्छ
सिरहा — सिरहाको गोलबजार नगरपालिकामा कमसल कामको विरोध गर्दा एक स्थानीय व्यक्ति स्वास्थ्यमन्त्रीका स्वकीय सचिवबाट कुटपिटमा परेका छन्। गोलबजार नगरपालिका–६, डोहटियाका ३४ वर्षीय नारायण ठाकुरमाथि कुटपिट भएको हो।
ठाकुरमाथि सोमबार साँझ साढे ८ बजे मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहका स्वकीय सचिव सतिशचन्द्र सिंह र एमाले कार्यकर्ता भुवन लामाले कुटपिट गरेका हुन्। दुवै व्यक्ति त्यहाँकै स्थानीय हुन् ।
डोहटिया गाउँमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको नाला गुणस्तरहीन रहेको भन्दै ठाकुरले विरोध जनाएका थिए। उनका अनुसार नाला निर्माण गर्दा माटोको लेबल मिलाइएको थिएन र गिट्टी पनि निकै न्यून मात्रामा प्रयोग गरिएको थियो।
उनले प्रयोग गरिएका रड कवाडीको भएको दाबी गरेका छन्। उक्त काम स्थानीय एमाले कार्यकर्ता श्यामकुमार यादवको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिबाट सिंहलगायतकै संलग्नतामा भइरहेको थियो। यसबारे ठाकुरले तत्काल सम्बन्धित निकायमा जानकारी गराएका थिए।
गुनासो गरेको १५ मिनेटपछि स्वकीय सचिव सिंहले ठाकुरलाई फोन गरी निर्माणस्थलमा बोलाएको र गालीगलौज गर्दै आफू, भुवन लामा र अन्यले कुटपिट गरेको पीडितको भनाइ छ।
कुटपिटका कारण ठाकुरको पेट, पिठ्युँ र टाउकोमा चोट लागेको छ। प्रहरीलाई जानकारी गराई सोमबार साँझ नै अस्पताल पुगेका उनी हालसम्म उपचाररत छन्। ‘मुक्काले हान्दा भित्र चोट देखिएको छ,’ उनले भने, ‘गोलबजारकै एउटा निजी अस्पतालमा छु, डाक्टरले अहिले केयर गर्नुपर्छ भनेका छन्।’
तर, सिंहले आफूले कुटपिट नगरेको दाबी गरेका छन्। ‘मैले कुटेको होइन, बरु उनलाई बचाएको हुँ,’ सिंहको भनाइ छ, ‘यो त्यति ठूलो कुरा होइन, यस्तो भइरहन्छ।’
घटनाबारे पीडितले प्रहरीलाई जानकारी गराइसकेको र यसबारे विस्तृत बुझ्ने प्रक्रिया अघि बढिरहेको इलाका प्रहरी कार्यालय, गोलबजारले जनाएको छ।
