सिरहा — सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादवको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, सिरहाले आपत्ति जनाएको छ । नगर प्रमुख यादवले मंगलबार आफूविरुद्ध लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति महासंघले निन्दा गरेको हो ।
महासंघका सिरहा अध्यक्ष मनोज बनैता यादवले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख यादवको धम्कीपूर्ण अभिव्यक्ति घोर आपत्तिजनक रहेको उल्लेख गरेका छन् । समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेसागत दायित्व भएको र यसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ ।
नगर प्रमुख यादवको यो अभिव्यक्तिले लोकतान्त्रिक मूल्य-मान्यताको समेत अपमान गरेको तथा प्रेस स्वतन्त्रतामाथिको यस प्रकारको दमन कुनै हालतमा स्वीकार नगरिने महासंघले जनाएको छ । यस्तै, महासंघले नगर प्रमुख यादवलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा आएर योजनासँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको थियो । तर, नगरपालिकामा अख्तियार आएको कुरा अनर्गल प्रचारबाजी भएको भन्दै नगर प्रमुख यादवले पत्रकारलाई भारी पर्ने चेतावनी दिएका थिए ।
