मध्य पाषण युगको हतियार फेला परेको क्षेत्रमा थालियो अनुसन्धान 

जेष्ठ ११, २०८२

सुनिता बराल

Research has been started in the area where weapons from the Middle Ages have been found

महोत्तरी — महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्त्विक अध्ययन थालिएको छ। प्राचीन मानव इतिहासमा प्रयोग भएका हतियार (ढुङ्गे औजारहरू) उक्त क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्वलाई थप उजागर गर्न नगरपालिकाले अनुसन्धान सुरु गरेको छ।

पुरातत्त्व विभागका विज्ञहरूको टोलीले शनिबारबाट उक्त पाटु राई मण्डल क्षेत्रको अनुसन्धान थालेको  नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जानकारी दिए।

बर्दिबासमा पुरातात्त्विक पर्यटन प्रवर्द्धन गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले विज्ञहरूको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको उनले बताए। पुरातत्त्वविद् भास्कर ज्ञवाली र डाक्टर मन्जील हजारीको नेतृत्वको टोली अहिले बर्दिबास-३ स्थित पाटु, रातु र राई मण्डल क्षेत्रमा मध्य पाषण युगका ढुङ्गे औजारहरू संकलन तथा अध्ययन् गरिरहेको छ।

अबको करिब १० दिन उक्त क्षेत्र र प्राप्त औजारहरूको अवलोकन, अध्ययन र अनुसन्धान गरिने भास्कर ज्ञवालीले बताए । धेरै अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रको अध्ययन अनुसन्धान गरी प्रतिवेदन, किताब प्रकाशन गरिसकेका र उक्त क्षेत्रका ढुङ्गे औजारहरू पुरातत्त्व विभागको प्रदर्शनीमा समेत राखिएकाले उक्त क्षेत्रको थप विस्तृत अध्ययन थालिएको उनले बताए ।

जर्मन अनुसन्धानकर्ता गुडन कार्विन्सले १९८० को दशकमा तराईका विभिन्न भूभागहरूमा मानव सभ्यताको अध्ययन गरी ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्य पाषण युगको हतियार निर्माण हुने स्थल भनेर चिनाएकी छिन् । 

उनीसँगै विभिन्न अध्ययनकर्ताहरूको प्रतिवेदनले पाटु र राई मण्डल क्षेत्रलाई बर्दिबास नगरपालिकाको ऐतिहासिक तथा पुरातात्त्विक र पर्यटकीय दृष्टिले विशेष महत्वको ठाउँ भनेर परिभाषित गरेको छ । 

विगत केहिवर्षदेखि उक्त क्षेत्रको महत्वबारे चर्चा सुरु भएको छ । बर्दिबास उद्योग वाणिज्य संघको अग्रसरतामा बर्दिबासका विभिन्न निकायले पर्यटकीय सम्भावनाको खोजी थालेपछि बर्दिबास नगरपालिकामा आएको पर्यटन पर्वद्धन बजेटबाट उक्त क्षेत्रमा अनुसन्धानको काम सुरु भएको छ । 

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully