राजविराज — सिँचाइका लागि कृषि मिटर र बिल तिर्नुपर्ने समस्याबाट किसानलाई मुक्त गर्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले ट्रान्स्फर्मर र मास्टरमिटर जडान गरेको छ ।
तीन वर्षदेखि कृषि मिटरको बिल नगरपालिकाले नै तिर्दै आएको थियो । तर, मिटर जडान गर्न र नगरपालिकासम्म मासिक बिल ल्याइदिनका लागि दौडधुप गर्नुपर्दा किसानलाई समस्या भइरहेको थियो । ती समस्या अन्त्य गर्न तथा किसानलाई सहज पार्न नगरपालिकाले ट्रान्स्फर्मर र मास्टरमिटर जडान गरेको हो ।
अहिलेसम्म १४ मध्ये ७ वटा वडामा ७ वटा ट्रान्स्फर्मरसहित ७ वटा मास्टरमिटर जडान गरी विद्युत् प्रवाह भइरहेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए । ‘दौडधुपको समस्या त थियो नै, यहाँका केही किसानले जग्गाधनी प्रमाणपत्रको समस्याले पनि कृषि मिटर जडान गर्न पाएका थिएनन्’ उनले भने, ‘अब किसानलाई सिँचाइ गर्न कुनै झन्झट छैन्, सिँचाइका लागि मास्टरमिटरबाटै सबैतिर विद्युत् प्रवाह भइरहेको छ भने मास्टरमिटरको बिल नगरपालिकाले तिर्छ ।’
उनकाअनुसार चालु आर्थिक वर्षमा नगरपालिकाको ६० लाख र मधेश प्रदेश सरकारबाट पाएको ९५ लाख रुपैयाँ गरी कूल १ करोड ५५ लाख रुपैयाँको लगानीमा कृषि विद्युतीकरण योजना ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर अघि सारिएको सो योजना अन्तर्गत आगामी वर्षमा अन्य वडामा पनि ट्रान्स्फर्मर र मास्टरमिटर जडान गर्ने नगरपालिकाको योजना रहेको छ ।
कूल ५१ हजार ९ सय २६ परिवार रहेको सो नगरपालिकाका अधिकांश परिवारको दैनिकी कृषिमा आधारित छ ।
अति विपन्न र दलित समुदायका किसानलाई ‘कृषक एटीएम कार्ड’
अति विपन्न तथा दलित समुदायका किसानलाई लक्षित गरी सप्तरीको बलान बिहुल गाउँपालिकामा प्रदान गरिएको ‘कृषक एटीएम कार्ड’ बाट ७ सय ८० किसानले सहुलियत पाएका छन् ।
गाउँपालिकाले राष्ट्रिय कृषक समूह संघ नेपाल र केयर नेपालसँगको सहयोगमा ०८१ जेठदेखि ‘कृषक एटीएम कार्ड’ सुरु गरेको थियो ।
अनुदान स्वरुप पाएको ‘कृषक एटीएम कार्ड’बाट अहिलेसम्म ७ सय ८० अति विपन्न तथा दलित समुदायका किसानले सेवा लिइसकेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । ‘किसानले सो एटीएमबाट १४ हजार ५ सयसम्म कृषि सामग्री सहुलियतमा पाएका छन्,’ उनले भने, ‘सहुलियत पाउँदा किसानले माछा पालन, खुकुरा पालन, तरकारी खेती अन्य नगदे कृषि व्यवसाय गरिरहेका छन् ।’
