गौशालामा अवैध उत्खननमा रोक

जेष्ठ ८, २०८२

सन्तोष सिंह

Ban on illegal mining in cowsheds

महोत्तरी — गौशाला नगरपालिकाले अनधिकृत रुपमा नदीजन्य पदार्थ उत्खनन संकलन तथा ढुवानी कार्यमा रोक लगाएको छ । नगरपालिकाले सूचना निकालेर गौशाला नगरपालिकाको क्षेत्रभित्र पर्ने खोलाहरुबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा तथा भरौट माटो उत्खनन तथा संकलन कार्य अर्को आदेश नभएसम्मको लागि रोक लगाएको हो ।

नदीजन्य पदार्थ तथा खानीमा उत्खनन तथा संकलन गर्ने उद्देश्यले कुनै व्यक्ति टिपर, ट्रयाक्टर, डोजर खोलामा प्रवेश गरेको पाइएमा सवारी साधन जफत गर्ने जनाएको छ । 

प्रमुख प्रशासकिय अधिकृत केशव कुमार अधिकारीले निकालेको सूचनामा नदीजन्य पदार्थ उत्खनन संकलन तथा ढुवानी गरेको भेटिएमा त्यस्ता सवारी साधन तथा भारी उपकरणहरु कब्जामा लिई नियमानुसार जरिवाना गरिने साथै कुनै क्रसर उद्योग फर्मले गैरकानुनी रुपमा उत्खनन्  गरेमा व्यवसाय दर्ता खारेज गरिने चेतावनी दिएको छ ।

गौशालाको मरहा नदीमा क्रसर उद्योगहरुले अवैध उत्खनन थालेपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सूचना निकालेर सचेत गराएको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुधबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद रिसालले नदीजन्य पदार्थको उत्खननमा निगरानी गर्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई सचेत गराएको थियो ।

यता गौशालाको मरहा नदीमा अवैध उत्खनन गर्ने क्रसर उद्योगलाई प्रहरीले संरक्षण गरेको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्णले अनुगमनको क्रममा अनुमति नै नलिइ उत्खनन गरिरहेको एक्साभेटर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए पनि प्रहरीले एक्साभेटर आर्थिक लाभ लिएर क्रसर उद्योगलाई जिम्मा लगाएको छ ।

एक्साभेटरलाई कारबाहीका लागि ईलाका प्रहरी कार्यालयले नगरपालिकामा पत्र नै पठाएको छैन । कारबाहीमा परेको एक्साभेटर जयमा दुर्गा वासिङ सेन्टरले अझै प्रयोग गरिरहेको छ । गौशाला नगरपालिका–१० मराहा खोलामा नम्बर प्लेट नलगाई अवैध उत्खनन गर्न प्रयोग भएको ना २ क २० नम्बरको एक्स्काभेटर कारबाहीका लागि गौशाला नगरपालिकामा लेखि पठाइएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले बताए ।

अनुगमनको क्रममा मरहा नदीमा अनुमति बिना उत्खनन गरिरहेको अवस्थामा एक्स्काभेटर नियन्त्रणमा लिइएको थियो । उत्खनन गर्ने एक्स्काभेटरको नम्बर प्लेट हटाएर उत्खनन गरिरहेका चालकलाई सोधपुछ गर्दा फरार भएका थिए । मरहा नदीमा १० फिट गहिराईसम्म अवैधरुपमा उत्खनन भएको पाइएको छ । 

मरहा नदीको किनारमा सञ्चालन भइरहेको क्रसर उद्योग वन क्षेत्रमा पनि अवैध रुपले उत्खनन गर्दा सुरक्षा निकाय मुखदर्शक बनेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख कर्णले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully