रौतहट — रौतहटको राजपुर नगरपालिका–४ स्थित मेदनी चोकमा रहेको औषधि पसल अनुगमन गर्न गएको टोलीलाई स्थानीयले कुटपिट गरेका छन् । अनुगमनका लागि औषधि व्यवस्था विभाग वीरगन्जको प्रतिनिधि, फार्मेसीका प्रतिनिधि, जिल्ला प्रशासन गौरका प्रतिनिधि, जिल्ला प्रहरीका प्रतिनिधिमाथि स्थानीयले कुटपिट गरेका हुन् ।
कुटपिटबाट टोलीका केही मानिस घाइते भएका छन् ।
अनुमतिबेगर औषधि पसल संचालन गरेको जानकारी पाएपछि स्थानीय प्रशासनको सहयोगमा औषधि व्यवस्था विभाग वीरगन्जको टोली सोमबार राजपुर पुगेको थियो । टोलीले स्थानीय नेक महमदको औषधि पसलमा अनुगमन गर्न थालेको थियो । अनुगमन टोली अएको थाहा पाएर नेक फार्मेसीको पछाडि पट्टिबाट भागे । त्यही बेला एक्कासी स्थानीय महिला, पुरुषसहित डेढ सयको जत्था आई अनुगमन टोलीसँग विवाद सुरु गरेको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । त्यसपछि टोलीमाथि जाई लागेको थियो ।
प्रहरीका अनुसार स्थानीयको कुटपिटबाट औषधि व्यवस्थापन विभाग तथा फार्मेसी सुपर मेनेजर ओम जैसवाल, फार्मेसी अधिकृत अमर शर्मा, नायब सुब्बा वीरेन्द्र महतो, कार्यालय प्रमुख शम्भू साह, प्रहरी निरीक्षक रुद्र कँडेल घाइते भएका छन् । कुटपिटको क्रममा स्थानीय सुमिन्त्रा देवीसमेत सामान्य घाइते भएको प्रहरीले जनायो ।
घाइतेको प्रादेशिक अस्पताल गौरमा उपचार भएको थियो । घटनामा सलग्नका बारेमा अनुसन्धान भइरहेको डीएसपी रायले बताए । सोमबारको कुटपिट घटनाको मंगलबार सामाजिक सन्जालमा भाइरल भएको छ । महिलाहरुको हुलहुज्जतले अनुगमन टोलीलाई हातपात गरेको दृश्य भिडियोमा प्रस्टै देखिन्छ ।
