सिरहा — सिरहाबाट ठूलो परिमाणमा नगद र लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सिरहा प्रहरीको विशेष टोलीको अपरेसनका क्रममा फरक-फरक स्थानबाट उनीहरू पक्राउ परेका हुन् । जसमध्ये सबैभन्दा ठूलो परिमाणमा रकम र लागूऔषध बरामद भएको लहान नगरपालिका-२२ लबटोलीका दाजुबहिनीबाट हो ।
स्थानीय ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी वर्ष २६ की किरणकुमारी यादवबाट ५५ लाख बढी रुपैयाँ र २ सय ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार सुरूमा गत शुक्रबार साँझ ७ बजेको समयमा को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट २१ ग्राम ब्राउन सुगर, ५१ हजार ४ सय ५० रुपैयाँ र दुई थान मोबाइल मात्र बरामद भएको थियो ।
तर, प्रहरीले त्यसपछि केरकार गर्दै उनीहरूको घरका कोठाहरू खानतलासी गर्दा थप १ सय ८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २ सय ८५ नेपाली र ३५ हजार ७ सय ८० भारतीय रुपैयाँ बरामद भयो । यसरी उनीहरूको साथबाट जम्मा ५५ लाख २२ हजार ९ सय ८३ रुपैयाँ नगद, २ सय १ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढंगले नै लागूऔषधको कारोबार गर्दै आएका थिए । उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ । यसमध्ये दिनेश यसअघि पनि २०८० साउन १२ गते ३.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर ६ महिना जेल सजाय भुक्तान गरी २०८० माघ ५ मा रिहा भएका थिए ।
यस्तै, प्रहरीले अर्का एक व्यक्तिलाई श्रोत नखुलेको अवैध रकमसहित पक्राउ गरेको छ । सिरहा नगरपालिका-१७ का ४५ वर्षीय संजय कारक शनिबार दिउँसो सिरहा-२ स्थित महावीर चोकबाट १६ लाख ३८ हजार ३ सय ७० रुपैयाँसहित पक्राउ परेका हुन् । उनी हुन्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा जाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि पनि अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
यसैगरी, सिरहाबाटै अर्का दुई जना पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । औरही गाउँपालिका-३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरूलाई बरियारपट्टी गाउँपालिका-३ बाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । यी पाँचै जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी उपरीक्षक शर्माले लागूऔषध र अवैध कारोबारप्रति सिरहा प्रहरी शून्य सहनशीलता अपनाएर अघि बढेको बताए ।
