पर्सा — वीरगन्ज नाका हुँदै तीन साताको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसनको २० हजार टन युरिया मल भित्रिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी सन्जय गुप्ताका अनुसार यस अवधिमा वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी नाका र सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गरी ८ रेल्वे र्याकमा २० हजार टन युरिया मल आइपुगेको हो ।
साल्टले ग्लोबल टेण्डरबाट ३० हजार टन युरिया मल आयात गर्न लागेकोमा सोही कन्साइन्मेन्टको मल निरन्तर भित्रिरहेको हो । आदित्य बिरला कम्पनी यो कन्साइन्मेन्टको आपूर्तिकर्ता रहेको छ । उसले तुर्कमिनिस्तानबाट यो मल ल्याउँदै छ । भारतको कोलकाता बन्दरगाह हुँदै यो मल रेलमा ढुवानी गरी वीरगन्ज नाकासम्म ल्याइँदै छ ।
३० हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले करिब १२ हजार ७ सय ७४ टन मल पाउनेछ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पाउनेछन् । हालसम्म वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा ९ हजार ९ सय ७७ दशमलव ४० टन युरिया मल भित्रिसकेको उनले बताए ।
वीरगन्ज गोदाममा भण्डारण गरिएसँगै माग भएका जिल्लामा युरिया मल परिचालन समेत भइरहेको उनले बताए ।
मधेश प्रादेशिक कार्यालयले कार्यालयले मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका गरी १६ जिल्लामा मल परिचालन गर्दै आएको छ । हाल भित्रिएको मल तराई र पहाडका जिल्लामा चैते धान बालीका लागि उपयोगी रहेको लामिछानेले बताए ।
