एक महिनामा भित्रियो कृषि सामग्री कम्पनीको १५ हजार टन डीएपी  

जेष्ठ २, २०८२

शंकर आचार्य

15,000 tons of DAP of agricultural material company was imported in one month

पर्सा — वीरगन्ज नाका हुँदै एक महिनाको अवधिमा कृषि सामग्री कम्पनीको १५ हजार टन डीएपी मल भित्रिएको छ । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, भारतको कोलकाताबाट मल बोकेर बुधबार रेल्वे र्‍याक आइपुगेको हो । 

एउटा रेल्वे र्‍याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ । कुल ६ र्‍याकमध्ये आधा सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा ३ वटा र सिर्सिया सुक्खा बन्दरगाहमा ३ वटा र्‍याक आइपुगेका हुन् । 

कूल १५ हजार टन डीएपीमध्ये ६ हजार टन डीएपी कम्पनी प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा भण्डारण भइसकेको छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय लगिँदै छ । वीरगन्ज कार्यालयको मल रक्सौल रेल्वे स्टेसनमा तथा विराटनगर र भैरहवाको मल सिर्सिया सुक्खा बन्दरगाहमा आइरहेको छ । 

ग्लोबल टेन्डरबाट सन इन्टरनेसनल कम्पनीले यो मल आपूर्तिको ठेक्का पाएको हो । २५ हजार टन डीएपी मलको यो कन्साइन्मेन्टअन्तर्गत ९ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पाउने छन् । 

हाल चैते धान बालीका लागि डीएपी मलको माग नरहेकाले आउँदो वर्षे धान बाली सिजनका लागि यो कन्साइन्मेन्टको मल उपयोगी हुने पाण्डेले बताए । कम्पनी मधेश प्रादेशिक कार्यालयले मधेश प्रदेशका जिल्लाका साथै बागमती र गण्डकी प्रदेशका समेत गरी १६ जिल्लामा मल परिचालनको जिम्मेवारी वहन गर्दै आएको छ । 

कम्पनीको युरिया मल भने नेपाल आउन पुग्न अझै समय लाग्ने पाण्डेले जानकारी दिए । ३० हजार टनको उक्त कन्साइन्मेन्टको मल हाल कोलकाता बन्दरगाह आइपुगेको जानकारी आफूले पाएको उनले बताए । समयमै युरिया मल आएको खण्डमा आउँदो बर्खेबाली सिजनका लागि युरिया मलको माग सहजै धान्न सकिने उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully