धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधिले नै गरे तालाबन्दी

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

In Mithila municipality of Dhanusha, the people's representative has done the lockdown

जनकपुरधाम — धनुषाको मिथिला नगरपालिकामा तालाबन्दी गरिएको छ । नगर प्रमुख महेन्द्र महतोले एक्लौटी गरेको भन्दै उपप्रमुख सुनिता सिंह बुढाथोकीसहितका जनप्रतिनिधिले बिहीबार तालाबन्दी गरेका हुन् । नगरप्रमुखको मनोमानीविरुद्ध तालाबन्दी गरेको उपप्रमुख बुढाथोकीले बताइन् ।

उनका अनुसार नगर प्रमुखले आफ्नो योजना मात्र सञ्चालन गर्ने गरेका छन् । अन्य महत्वपूर्ण योजनाहरु सञ्चालन गर्न नदिएको कारण २७ जना जनप्रतिनिधिको सर्मथनमा आजित भएर तालाबन्दी गरेको उनले सुनाइन् । ५ जना वडाध्यक्ष, १२ जना कार्यपालिका सदस्य, ९ जना वडा सदस्य र एक जना उपप्रमुखले संयुक्त रुपमा नगर प्रमुखको कार्यशैलीको विरोध गरिरहेका छन् ।  

‘बहुमत जनप्रतिनिधिलाई बेवास्ता गरेर एक्लौटी शासन गरेर चलाउन खोजेको छ,’ उपप्रमुख बुढाथोकीले भनिन्, ‘कुनै जनप्रतिनिधिसँग समन्वय गर्दैनन् । घर परिवार चलाए जसरी एक्लौटी नगर चलाउन खोजेको छ ।’ विधिअनुसार पालिका सञ्चालन नभएको उनको आरोप छ । 

वडाध्यक्षहरुलाई बजेट चलाउन पनि नदिएको उनले बताइन् । ‘नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग मौखिक, लिखित कुन कारणले अन्य योजनाहरु सञ्चालन गर्न नदिएको भनेर सोध्यौं,’ उनले भनिन्,‘उहाँहरु हाकाहाकी भन्नुहुन्छ चलाउन दिनन् ।’ 

आर्थिक वर्षको १० महिना बित्दा पनि नगर प्रमुख जनताप्रति संवेदनशील नभएको उनको आरोप छ । पार्टीगत हिसाबले कांग्रेस बाहेकबाट निर्वाचित जनप्रतिनिधिलाई बेवास्ता गरेको उनले बताइन् । आव २०८०/०८१ को नगरसभा कानुनअनुसार नभएको भन्दै उपप्रमुख सिंहले सर्वोच्च अदालतमा मुद्दा दिएकी छिन् । सोही मुद्दा फिर्ता नलिँदा काम गर्न नदिएको उपप्रमुख बुढाथोकीको कथन छ । 

नगर प्रमुख महतोले तालाबन्दीबारे अनौपचारिक रुपमा मात्रै सुनेकोले कुनै पनि प्रतिक्रिया नदिने बताए । कुन कारणले योजना सञ्चालन नभएको कार्यपालिकाको सबैलाई थाह भएकोले यस विषयमा मिडियामा बोल्नु पर्ने आवश्यकता नरहेको भन्दै उनी पन्छिए ।

कान्तिपुर

Link copied successfully