काठमाडौँ — दुईदशक देखि पत्रकारितामा सक्रिय चन्द्रपुर–४ घर भएका पत्रकार फणिदेव महतको मंगलबार राति ब्रेनट्यूमर रोगबाट निधन भएको छ ।
पत्रकार महतको गत वर्ष राजधानीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ट्यूमरको शल्यक्रिया गरिएको थियो । त्यसपछि भारतको नयाँ दिल्लीमासमेत उनको उपचार भइरहेको थियो ।
अन्नपूर्णपोस्ट राष्ट्रिय दैनिकका रौतहट सम्वाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक महत प्रेस चौतारीको मधेशप्रदेशका पूर्वअध्यक्ष समेत हुन् ।
मिजासिला स्वभावका ४८ वर्षीय महतलाई अचानक टाउको दुखेर बेहोस भएपछि गत वर्ष काठमाडौंमा शल्यक्रिया गरिएको हो । त्यसपछि उनलाई भारतको दिल्लीमा लगेर साईबरनाईफ प्रविधिले घाउमा सेकाई गरिएको थियो ।
पछिल्लो एक महिनादेखि उनी पाटन अस्पताल र अन्नपूर्ण न्युरोमा उपचार गराइरहेका थिए । निधनपछि उनको पार्थिव शरीरलाई काठमाडौंबाट बिहान गृह जिल्ला रौतहट ल्याइएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष निर्मला शर्माले पत्रकार महतको निधनले सिंगो महासघ स्तब्ध भएको बताइन् । उनको आजै अन्तिम संस्कार गरिनेछ ।
