पर्सा — वैदेशिक रोजगारीसम्बन्धी कसुर मुद्दाका एक प्रतिवादीलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी छन् । उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो ।
सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न विभागले वैशाख १७ गते पर्सा प्रहरीलाई पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउलगत्तै प्रहरी कर्मचारीको जिम्मा लगाई उनलाई विभागमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।
