मर्मत अभावमा खाद्य कम्पनीका ३ गोदाम उपयोगविहीन

वैशाख ३०, २०८२

शंकर आचार्य

3 godowns of the food company are unusable due to lack of maintenance

पर्सा — मर्मतसम्भार अभावमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखा मातहत रहेको साबिकको नेसनल ट्रेडिङ लिमिटेको वीरगन्जस्थित ३ वटा गोदाम उपयोगविहीन भएको छ । कुल १३ मध्ये १० गोदाम तथा प्रशासनिक भवन कम्पनीले भाडामा लगाएको छ ।

आकर्षक भाडा आउने ३ वटा गोदाम भने मर्मत अभावमा भाडामा लाग्न नसकी २ वर्षयता खाली छ । तीमध्ये एउटा गोदामको छानो गत वर्ष हावाहुरीसँगै लडेको रुखले भत्काएपछि मर्मतसम्भार हुन सकेको छैन । अन्य दुई गोदामको पनि छानो चुहिएर ती गोदाम भाडामा लाग्न नसकेका हुन् ।

हाल भाडामा लागेका १० मध्ये ७ गोदाम साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय वीरगन्ज र ३ गोदाम कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्ज प्रादेशिक कार्यालयले रासायनिक मल भण्डारका लागि भाडामा लिएका छन् । साल्टले कम्पनीलाई भाडाबापत मासिक ४ लाख ३१ हजार २ सय ५०, कृषि सामग्रीले मासिक १ लाख २४ हजार २५ रुपैयाँ भाडा दिइरहेको छ । 

यसबाहेक मधेश विश्वविद्यालयले प्रशासनिक भवनको रुपमा उपयोग गरी रहेको भौतिक संरचनाको मासिक २ लाख ८९ हजार ८ सय २९ रुपैयाँ भाडा दिइरहेको छ । बस पार्किङका लागि परिसर उपयोग गरिरहेको नेसनल हेल्थ केयर प्रालिले मासिक १४ हजार ६ सय ४१ रुपैयाँ र वीरगन्ज कलेजले मासिक ९ हजार ९ सय रुपैया भाडा दिइरहेको छ ।

यसरी भाडाबापत मात्रै कम्पनीले यहाँबाट मासिक ८ लाख ९६ हजार ६ सय ४५ रुपैयाँ आम्दानी गरिरहेको छ । तर जीर्ण भएका गोदामको मर्मत नगर्दा वार्षिक ठूलो रकम गुमाइरहेको छ । 

परिसरभित्रकै आन्तरिक बाटोको मर्मतसम्भार नगर्दा त्यहाँ भाडामा लिएका सरकारी तथा निजी प्रतिष्ठानलाई पनि आआफ्नो मालबस्तु लोड अनलोड गर्न समस्या भइरहेको छ । विशेषगरी वर्षायामको ३/४ महिना आन्तरिक सडक हिलाम्य भएर उनीहरुलाई सास्ती हुने गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखा प्रमुख पंकजकुमार झाले बजेट अभावकै कारण जीर्ण भएका गोदामको मर्मत गर्न नसकिएको बताए । उनले यस वर्ष केन्द्रले यहाँस्थित गोदाम मर्मत तथा परिसरको आन्तरिक बाटो निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकाले यस वर्ष मर्मत हुने बताए ।

‘जेठ लागेपछि मर्मतसम्भार तथा बाटो निर्माणका लागि टेन्डर आह्वान हुँदै छ,’ उनले भने, ‘सम्भवतः यस वर्षको वर्षापछि गोदाम मर्मत र आन्तरिक सडक निर्माणको काम सुरु भएर लामो समय देखि रहेको समस्याको अन्त्य हुनेछ ।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully