१६ र १४ वर्षीया दिदीबहिनी गम्भीर घाइते, ६ दिनदेखि उपचार हुँदै
राजविराज — अदालतबाट न्याय पाएका सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीका यादव परिवारमाथि विपक्षी र छिमेकीले कुटपिट गर्दै धम्की दिन थालेका छन् ।
गत बुधबार पनि सुजानदेवी यादवकी छोरीहरु १६ वर्षीया अम्बिकाकुमारी र १४ वर्षीया ललिताकुमारी कुटिएकी छन् । गम्भीर घाइते दुवैलाई सुजानदेवीले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ६ दिनदेखि उपचार गराइरहेकी छन् । चिकित्सकले ‘सिटी स्क्यान’ गराउन सुझाए पनि अस्पतालमा उपकरण बिग्रिएकाले उपचार रोकिएको छ ।
‘भएभरको पैसा उपचारमा खर्च भइसक्यो, अरु अस्पतालमा गएर ‘सिटी स्क्यान’ गराउन पैसा छैन,' ५५ वर्षीया सुजानदेवीले भनिन्, ‘घरमा कमाउने पनि कोही छैन, अदालतको फैसला हाम्रो पक्षमा हुँदादेखि नै छिमेकीहरुले कुटपिट गर्दै आएका छन्, यसअघि पनि दुईपटक कुटपिट गरेका थिए ।’
यसअघि कुटपिट हुँदा प्रहरी चौकी सिस्वा बेल्हीमा पञ्चायती बसेर उनीहरुलाई जरिवाना तिराउँदा समेत कुटपिट गर्न नछाडेको उनले दुखेसो गरिन् । उनका अनुसार छिमेकीहरु शम्भु मण्डलकी पत्नी सोमनीदेवी, उनकी छोरीहरु रम्भा र अनिता, स्व. मेदी मण्डलकी पत्नी गुज्रीदेवी, बुहारी आरती र नाती राधिका तथा रामउद्गार र उनकी पत्नी लक्ष्मी मण्डलले छोरीहरुलाई कुटपिट गरेका छन् । ‘प्रहरीले उद्धार गरेर अस्पतालमा भर्ना गराइदिएको छ, उपचारबाट फर्किएपछि अरु कुरा हुन्छ भनेको छ तर हामीलाई उपचार गराउन समस्या भइरहेको छ,’ उनले भनिन्, ‘जोगी बनेर निस्किनु भएको पति (खुशीलाल यादव) पनि लामो समयदेखि घर फर्किनुभएको छैन, उपचार कसरी गराउनु ?’
छिमेकी शम्भु मण्डल र स्व. मेदी मण्डलले सप्तरी जिल्ला अदालतमा सुजानदेवीका पति खुसीलाललाई विपक्षी बनाएर ‘खिचोला मेटाई घर उठाई चलन’ सम्बन्धी मुद्दा दायर गरेका थिए । २०७२ जेठ २६ गते सो मुद्दामा फैसला गर्दै न्यायाधीश तेजनारायण पौडेलले कित्ता नम्बर १६७ को ८ धुर गाउँब्लक जग्गामा रहेको घर पाताल भए वा उठाएर नलगेसम्म वादी (शम्भु र मेदी) को हक नलाग्ने ठहर गरेका थिए । फैसलापछि त्यहाँबाट आफूहरुलाई विस्थापित गर्न पटकपटक कुटपिट गर्दै धम्की दिन थालेको सुजानदेवीको भनाइ छ ।
वडाध्यक्ष रवीन्द्रकुमार साहले कुटपिट भएको विषयमा जानकारी आए पनि स्पष्ट हुन नसकिएको बताए । ‘कुनै पनि बहानामा कुटपिट गर्नु गलत हो,’ उनले भने, ‘थप बुझेर समाधानको लागि पहल गर्छु ।’
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बोदेबरसाइनलाई निर्देशन दिएको बताए । ‘नियन्त्रणमा लिइसकेपछि थप कानुनी प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।
