आगलागीको डरले रातभर जाग्राम

वैशाख २९, २०८२

सन्तोष सिंह

Stay awake all night for fear of fire

महोत्तरी — मटिहानीको जरलहवा गाछीमा फुसको छाप्रो बनाएर बसोबास गर्नेहरु रातमा राम्ररी निदाउन समेत पाउँदैनन् । मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीको मुस्लिम बस्तीका सर्वसधारण रातमा निष्फिक्री भएर निदाउनै पाउँदैनन् । खरले छाएको फुसको घरमा आगलगीको डरले स्थानीयलाई रातमा निद्रा नआएको हो । बर्सेनि आगलागी हुँदा क्षति व्यहोर्दै आएका स्थानीय आलोपालो गरी बस्तीको निगरानी गर्छन् ।

०८१ वैशाख १२ गते अगालागी भएर बस्ती नै जलेको जरलहवा गाछीको मुस्लिम बस्तीमा अहिले घरघरमा अनिवार्य बाल्टिनमा पानी, खाना पकाएपछि आगो निभाउने र वृद्धवृद्धा तथा महिलाले बस्तीमा आगो लाग्न नदिन जाग्राम बस्ने गरेको बसिरो खातुनले बताइन् । 'आगलागीको त्रासले रातभर सुत्न सकेको छैन', उनले भनिन्, 'रातदिन बाल्टिनमा पानी राख्छौँ । भाँडाकुँडा खाली राख्दैनौँ, पानी भरेर राख्छौँ । कति बेला आगो लाग्छ थाहा छैन । बस्तीमा जुन घरमा बसोबास छैन त्यही घरबाट आगलागी हुने गरेको छ ।' जरलहवा गाछीमा विपन्न १७ मुस्लिम परिवारको फुसको घरमा बर्सेनि आगलागी हुने गरेको उनले बताइन् । 

पटक पटक आगो लगेर क्षति भएपछि आगो लाग्दा सम्हाल्न नसक्ने भएर दुई सन्तान हुर्काइरहेकी अजमेरी खातुनले त्रिपालमुनि नै गुजारा गरिरहेकी छन् । आगो लागेर बच्चाहरुलाई सम्हाल्न नसक्ने हो कि भनी उनलाई डर लाग्छ । डरकै कारण उनले घर नै बनाएकी छैनन् । 'गरिब मुस्लिम बस्तीमा गाउँका धनीहरुले राजनीतिक पहुँचको आडमा गुठीको जग्गा कब्जा गरेको छ । कब्जा गरेको जग्गामा फुसको छोप्रो बनाए पनि बसोबास भने गर्दैनन्,' उनले भनिन् । 

Stay awake all night for fear of fire

जग्गा कब्जा गर्न बनाइएका घरहरुबाट बस्तीमा आगो लाग्ने गरेको दु:खनी खातुनले बताइन् । 'गाउँ बस्तीमा पक्की घर बनाएकाहरुले जग्गा कब्जा गर्ने उद्देश्यले गरिब बस्तीमै फुसको घर बनाएको छ,' उनले भनिन्, ‘जुन घरमा बसोबास छैन, खाना पाक्दैन, बिजुली जोडेको छैन त्यही घरबाट बस्तीमा आगो लाग्छ ।’ सरकारलाई सबै यथार्थ जानकारी हुँदाहुँदै समस्या समाधानका लागि पहल नगरेको उनको गुनासो छ । आगलागीको त्रासले राति जाग्राम बस्नु परेको उनी बताउँछिन् ।

Stay awake all night for fear of fire

गत वर्ष आगलागी हुँदा बस्ती नै जलेर खरानी भएको थियो । आगलागीका कारण यहाँका सर्वसधारण वर्षातको समयमा त्रिपालमा बस्नु परेको थियो । आगलागी हुँदा जरलहवा गाछीमा राहत र उद्धारका लागि आउने स्थानीय सरकार, सुरक्षा निकाय र अन्य दातृ निकाय आगो लाग्न नदिन तथा बस्तीमा समस्या समाधानका लागि पहल नगरेको स्थानीय इसराफिले बताए ।

Stay awake all night for fear of fire

मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी लक्ष्मीनरायण मठ मटिहानीको बगैँचामा स्थानीयले जबर्जस्ती घर बनाएर बसोबास गरिरहेको गुठी संस्थान महोत्तरीका प्रमुख किशोर झाले बताए । मटिहानीको परिक्रमा गाछीदेखि जरलहवा गाछीसम्म गुठीको २८ बिघाभन्दा बढी जग्गा रहेको र अधिकांश जग्गा अतिक्रमण भएको झाले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully