कलैया उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

२७ वटै वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा घोषणा गरिएको हो

वैशाख २९, २०८२

लक्ष्मी साह

Kalaiya sub-metropolis announces full immunization coverage

बारा — कलैया उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । उपमहानगरले २७ वटै वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित सहभागी कार्यक्रममा सोमबार उक्त घोषणा गरेको हो । 

तर कलैयाले यो घोषणा गरिरहँदा देशभरमा अझै ४ प्रतिशत बालबालिका खोपको पहुँचबाट पूरै टाढा (शून्य अवस्थामा) छन् भने १६ प्रतिशत आंशिक रुपमा पहुँचबाहिर रहेको स्वास्थ्य महाशाखाका प्रमुख अजय जयसवालले बताए ।

सामान्यत: जन्मेको १६ देखि २३ महिनासम्मका बालबालिकालाई अनिवार्य खोप लगाउन सरकारले भनेको छ । तर ५ वर्षसम्मका भए पनि कोही पनि बालबालिकालाई खोपबाट वञ्चित नराख्न सरकारले लक्ष्य राखेको छ ।

जयसवालका अनुसार देशभरमा ८० प्रतिशत मात्र बालबालिका खोपको पहुँचमा रहेको पाइएको छ । 'खोपको पहुँचमा शतप्रतिशत गरिब, विपन्न, अति विपन्न र दलित समुदाय (गरिब वर्ग) छन्,' उनले भने, 'जो धनी वर्गका छन्, तिनीहरु घरबाट निस्कन चाहँदैनन्, धनी परिवारका बालबालिकामा खोप पुगेको छैन ।’ यो तथ्यांक सन् २०२२ मा गरिएको सर्वेबाट पाइएको उनले जानकारी गराए ।

आउँदो सन् २०२७ सम्ममा सबै समुदाय र वर्गमा खोपको पहुँच शतप्रतिशत पुर्‍याइने सरकारको लक्ष्य रहेको उनले बताए । सन् २०११ मा सर्वे हुँदा १३ प्रतिशत बालबालिका खोपबाट वञ्चित थिए । स्थानीय तहमा स्वास्थ्य कार्यक्रम सञ्चालन मापदण्डअनुसार चालु वर्षको जेठसम्म अनिवार्य खोप सुनिश्चतता घोषणा गर्न संघीय सरकारले ‘टाइम लाइन’ दिएअनुसार घोषणा गरिएको उनले बताए ।

१५ महिनासम्मका बालबालिकालाई अनिवार्य रुपमा नियमित खोप सञ्चालन गरी खोपबाट वञ्चित गराउन नमिल्ने भएकाले सो कार्यक्रम पूरा गरी घोषणा गरिएको उनको भनाइ छ । फागुनमा सर्वे गर्दा पालिकाभरि २३ महिनासम्मका १८ सय बालबालिकामध्ये २ सय १० जना खोपको आंशिक पहुँचमा र १ प्रतिशत शून्य पहुँचमा भेटिएकाले त्यसलाई पूरा गरी पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको उनले बताए ।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully