१ सय १० रुपैयाँ दस्तुर तिर्नुपर्नेमा बार एसोसिएसनकी कोषाध्यक्षले आवेदकसॅंग ५ हजार १ सय १० रुपैयाँ मागेको भिडियो
राजविराज — सप्तरी जिल्ला अदालत परिसरमै खुल्लेआम अवैध असुली भइरहेको पाइएको छ । कान्तिपुरलाई प्राप्त भिडियो क्लिपमा सप्तरी जिल्ला अदालत बार एसोसिएसनका पदाधिकारीले नै अवैध असुली गरिरहेको देख्न सकिन्छ ।
जिल्ला अदालतले वैशाख २४ गते लेखापढी व्यवसायीको प्रमाणपत्रका लागि आवेदन आह्वान गरेको थियो । आवेदकले १ सय १० रुपैयाँ दस्तुर तिर्नुपर्ने भनिएको छ । तर, बार एसोसिएसनकी कोषाध्यक्ष निलमकुमारी यादवले आवेदकसॅंग ५ हजार १ सय १० रुपैयाँ माग्दै थर्काइरहेको भिडियोमा स्पष्ट देखिन्छ ।
अदालत परिसरमै रहेको बारको हलमा बसेर कोषाध्यक्ष यादवले असुली गरिरहेकी हुन् । ‘आवेदन भर्नुछ भने ५ हजार १ सय १० रुपैयाँ तिर्नैपर्छ,’ उनले भिडियोमा भनेकी छन्, ‘चित्त बुझ्दैनॅ भन्ने यहाँबाट गइहाल्नू ।’
केही आवेदकले कोषाध्यक्ष यादवसॅंग ५ हजार १ सय १० रुपैयाँको रसिद पनि मागेका छन् । तर, उनले रसिद दिन्नॅं भनेकी छन् ।
अदालतले आह्वान गरेको आवेदनमा अदालतका नायब सुब्बा ललनकुमार कर्णलाई सम्पर्क व्यक्ति तोकिएको छ । तर, उनले आवेदकलाई फारम दिॅंदैनन् ।
अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले त्यसको कानुनी दस्तुर १ सय १० रुपैयाँ मात्रै रहेको बताए । ‘परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका जाँच गर्ने अनि प्रमाणपत्र दिनेसम्मका काम उहाँहरुले गर्ने भन्ने मैले सुनेको छु, त्यसमा थोरै पैसा चाहिन्छ तर त्यत्रो पैसा नउठाउनुपर्ने हो,' उनले भने, ‘त्यो गलत हो, त्यसलाई सुधार गर्छौं ।'
बार एसोसिएसनका अध्यक्ष कामेश्वर यादवले पैसा उठाइरहेको विषय स्वीकार गरे । ‘कानुनले त दिॅंदैन तर व्यावहारिक पनि त केही हुन्छ नि, भेटेर कुरा गर्नु न । सबै कुरा फोनमा कहाँ हुन्छ र,’ उनले भने ।
