वीरगन्जका कोइला डिपो र डिलरको नियमन सुरु

अब आफ्नो व्यवसाय अनिवार्य रूपमा महानगरपालिकामा दर्ता गर्नुका साथै कोइला राख्न प्रयोग गरिएको जग्गाको सम्पत्ति कर र भाडामा लिइएको जग्गाको बहाल कर समयमै बुझाउनुपर्ने 

वैशाख २७, २०८२

शंकर आचार्य

Regulation of Coal Depots and Dealers in Birgunj started

पर्सा — वीरगन्ज महानगरपालिकाभित्र सञ्चालनमा रहेका कोइला डिपो तथा डिलरमाथि नियमन हुन थालेको छ । महानगर कार्यालयले नियमन थालेको हो । 

जनस्वास्थ्य र वातावरणीय सरोकारलाई मध्यनजर गर्दै यो व्यवसायलाई व्यवस्थित गर्न कडाइका साथ निगरानी गर्न सुरु गरिएको महानगरका जनसम्पर्क अधिकृत नवराज फुँयालले बताए । ‘लामो समयदेखि कोइला डिपो जथाभाबी सञ्चालन हुँदै आए पनि व्यवस्थापनमा कमजोरी देखिएको थियो,’ उनले भने, ‘डिपोमार्फत उड्ने धुलो, सडकमा फैलिने कालो फोहोर, ट्रकबाट आउने आवागमन र कोइला राख्ने तरिकाले स्थानीयवासीमा गम्भीर असन्तुष्टि बढ्दै आएको थियो ।’ यो समस्याको समाधान खोज्न महानगरले सक्रियता देखाउँदै सोमबार यस्ता व्यवसाय गर्ने व्यवसायीसँग छलफलसमेत गरेको उनले बताए । 

छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, महानगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, वन तथा वातावरण महाशाखा प्रमुख राकेश साह, प्रकाशबहादुर ऐर, वीरगन्ज  सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रतिनिधि सुभाशिष आदिलका साथै वीरगन्जस्थित विभिन्न कोइला डिपो तथा डिलरका सञ्चालक सहभागी थिए । 

छलफलमा अव्यवस्थित कोइला डिपोको प्रभाव स्थानीयको दैनिक जीवनमा कसरी परेको छ भन्ने विषयमा गम्भीर चर्चा भएको उनले बताए । ‘विशेषतः बालबालिका, वृद्धवृद्धा र दम, एलर्जीजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई धुलोको कारण प्रत्यक्ष असर परिरहेको छ,’ उनले भने, ‘डिपोहरू सडक किनारैमा खुला रूपमा कोइला थुपार्ने, ट्रकबाट झिक्ने क्रममा चारैतिर कालो धुलो फैलिने र डिपो  वरपर फोहोरमैला जम्ने अवस्थाले वीरगन्जको वातावरण नै प्रभावित बनाएको निष्कर्ष छलफलमा निकालिएको थियो ।’

यिनै समस्याको स्थायी समाधानका लागि अब महानगरले कोइला डिपो व्यवस्थित गर्न कानुनी ढाँचामा ल्याउने निर्णय गरेको उनले बताए । अब सबै डिपो तथा डिलरले आफ्नो व्यवसाय अनिवार्य रूपमा महानगरपालिकामा दर्ता गर्नुका साथै कोइला राख्न प्रयोग गरिएको जग्गाको सम्पत्ति कर र भाडामा लिइएको जग्गाको बहाल कर महानगरमा समयमै बुझाउनुपर्नेछ । 

वातावरणमा डिपोले पार्ने प्रभावलाई ध्यानमा राख्दै अब सबै डिपोले वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य रूपमा गराउनुपर्नेछ । साथै डिपोको संरचना, भण्डारणस्थल तथा पूर्वाधार निर्माणका लागि महानगरबाट नक्सा पास गराउनुपर्ने व्यवस्था लागू गरिएको छ । यसले डिपोलाई निर्माण, व्यवस्थापन र सञ्चालनका हरेक पाटोमा निश्चित मापदण्डभित्र ल्याउने अपेक्षा गरिएको उनले बताए । 

त्यस्तै, अवस्थित क्षेत्रका सडक तथा फुटपाथमा देखिने फोहोर र धुलोका कारण आसपासका बासिन्दालाई परेको असहजताको अन्त्य गर्न अब डिपो सञ्चालकलाई नै सफाइको जिम्मेवारी दिइने भएको छ । सञ्चालकले आआफ्नो क्षेत्र सफा राख्न नसके नगर प्रहरी र सरोकारवाला निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइने पनि उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully