विष्णुपुरका पालिका अध्यक्ष यादवसहितका तीन जनालाई सर्वोच्च अदालतमा पुनरावेदन

वैशाख २५, २०८२

विद्यानन्द राम

Bishnupur municipal chairman Yadav and three people appealed to the Supreme Court

राजविराज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहितका तीन जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५ लाख रुपैयाँ बिगो तथा जरिवाना सजायको दाबी गर्दै विशेष अदालतमा मुद्दामा दायर गरेको थियो । तर, २०८० चैत २३ गते अदालतले अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई सफाइ दिएको थियो । 

सो फैसला त्रुटिपूर्ण रहेको भन्दै बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए । 

विज्ञप्तिअनुसार वडा नम्बर ६ मा आर्थिक वर्ष ०७९/०८० मा भएको २५ लाखको सोलार बत्ती जडान कार्यको भुक्तानी दिन उनीहरुले उपभोक्ता समितिसॅंग सो रकम घुस मागेका थिए । उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादवले घुस मागेको विषयमा वडाध्यक्ष परमानन्द यादवलाई जानकारी गराएपछि दुवै जनाले संयुक्त रुपमा आयोगमा उजुरी दिएका थिए । 

उजुरीअनुसार खटिएको आयोगका टोलीले ०८० साउन ३१ गते दुई लाख नगद तथा तीन लाखको चेक घुसवापत लिँदैगर्दा लेखापाल टेकनारायण र एमआईएस अपरेटर वीरेन्द्रकुमारलाई राजविराजबाट नियन्त्रणमा लिएको थियो । त्यसअघि गाँउपालिका अध्यक्ष यादवले आफ्नै घरमा बोलाएर घुसबारे बार्गेनिङ्ग गरेको अडियो/भिडियोसहितका प्रमाण देखिॅंदा उनी पनि संलग्नता रहेको पुष्टि भएपछि मुद्दा गरेको विज्ञप्तिमा जनाइएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully