मानव बेचबिखनमा संलग्न १ आरोपित पक्राउ 

वैशाख २४, २०८२

शंकर आचार्य

1 accused involved in human trafficking arrested

पर्सा — प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा वीरगन्जस्थित नेपाल-भारत सीमाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–२ का २४ वर्षीय रोजन भुजेल छन् । 

उनलाई सोमबार साँझ साढे ६ बजेतिर वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो । त्यस क्रममा ती युवतीहरूको साथैमा रहेका भुजेलले हेटौंडा तथा वीरगन्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनी प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएकोले भुजेललाई नियन्त्रणमा लिइएको हो । 

थप अनुसन्धानका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जनाए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully