रौतहट — रौतहट प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका सामानसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई मंगलबार सार्वजनिक गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति रौतहटको ईशनाथ नगरपालिका–१ का ३७ वर्षीय राकेश पासवान हुन्। वैशाख २१ गते राति ११ बजे खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका–४ को लालबकैया नदी किनारबाट करिब २ लाख ३३ हजार रुपैयाँ बराबरको कपडासहित उनलाई नियन्त्रणमा लिएको थियो।
पासवानको साथबाट नम्बर प्लेट नभएका दुई वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। बरामद मोटरसाइकल र लत्ताकपडासहित उनलाई मंगलबार गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
