सिरहा — हुलाकी सडकअन्तर्गत सिरहा र धनुषाको सीमामा अवस्थित कमला नदीको अस्थायी काठेपुल बाढीले बगाएको छ । सिरहा नगरपालिका-६ स्थित कमलामा रहेको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाइदिएको हो ।
यसका कारण हुलाकी सडकबाट आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जोखिम मोल्दै आवातजावत गरिरहेको वडाध्यक्ष इन्द्रजितकुमार यादवले बताए ।
अहिले नदीमा बाढी रहेको र पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्ने उनको भनाइ छ । 'अहिले बाढी छ, पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्छौं,' उनले भने, 'यस्तै रहन त दिँदैनौं ।'
यो अस्थायी काठेपुल नगरपालिकाले ६ महिनाअघि करिब २ लाख रुपैयाँ खर्चेर निर्माण गरेको थियो । कमला नदीमा १३ वर्षअघि नै पुल निर्माण थालिए पनि अझै सम्पन्न भएको छैन । चार सय ६९.२ मिटर लामो पुलको काम २०६८ जेठ ३१ बाटै सुरु भएको थियो । तर, पटक-पटक म्याद थप भएर १० वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो ।
