राजविराज भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेन

वैशाख २२, २०८२

विद्यानन्द राम

Rajviraj Customs Office could not collect revenue as per the target

राजविराज — चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि राजविराज भन्सार कार्यालयले लक्ष्यको ५५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । गत वर्ष भन्सारले चैत महिनासम्ममा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको थियो । 

गत वर्ष कूल ६ करोड ५० लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले चैतसम्ममा ५ करोड ६२ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने असारसम्ममा लक्ष्यको १ सय २४ प्रतिशत (८ करोड ७ लाख ४७ हजार) राजस्व उठाएको थियो ।

तर, चालु आर्थिक वर्षमा कूल ८ करोड ८१ लाख ७९ हजार रुपैयाँ लक्ष्य लिएको भन्सारले चैतसम्ममा ५५ प्रतिशत (४ करोड ८५ लाख ७२ हजार १ सय ३८) मात्रै राजस्व संकलन गर्न सकेको छ । 

भन्सार कार्यालयका तथ्यांकअनुसार यस वर्ष साउनमा ३८ लाख ८८ हजार ८ सय २४, भदौमा १९ लाख ३८ हजार २ सय ४९, असोजमा ६८ लाख ४६ हजार २ सय १५, कात्तिकमा ८७ लाख ७१ हजार ६ सय ७८ रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, मंसिरमा ५१ लाख २६ हजार ७ सय ९, पुसमा ६८ लाख ८९ हजार २ सय ७१, माघमा ३० लाख ४४ हजार ३ सय ७८, फागुनमा ३४ लाख २९ हजार ८ सय ६७ र चैत्रमा ८६ लाख ३६ हजार ९ सय ४७ रुपैयाँ राजस्व संकलन भएको छ । 

भन्सार अधिकृत सत्यनारायण सिंहले भारतसँग जोड्ने सडकमा पुल नहुँदा राजस्व संकलनमा कमी आएको बताए । ‘जनवरी र फेब्रुअरीमा भारतले नेपालतर्फको कस्टम नकाट्दा तथा सीमानाकामा हुने चोरी पैठारीले पनि राजस्व संकलनमा कमी आएको हो’ उनले भने, ‘तर, लक्ष्य पूरा गर्न हामी प्रयासरत छौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully