सिरहा — सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बिहारको मधुवनी जिल्लास्थित कमलावारी ग्राम पञ्चायत-६ का ३५ वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
सिरहा नगरपालिका-१७ खटोकामा उनैले सञ्चालन गरेको अजय होटल तथा मदिरा पसलबाट ब्राउन सुगरसहित शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले उनको पसलबाट बिक्री वितरणका लागि राखिएको ५ ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, विशेष सूचनाका आधारमा प्रहरी उनको पसलमा पुगेर खानतलासी गरेको थियो ।
सिरहा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।
