रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम लच्का नजिक आइतबार कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
घरबाट निजगढतर्फ गइरहेको अवस्थामा सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले लच्कानजिक बिहान ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलिरामको हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी राजकुमार राईले बताए । ठक्कर दिने कार र चालक हेटौंडा उपमहानगरपालिका–१२ का कुमार पोख्रेललाई नियन्त्रणमा लिएको डीएसपी राईले बताए । उर्मिलादेवीलाई थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।
मृतक बाबुछोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
