पर्सा — मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नपा–१ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङ रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ ७ बजेको समयमा वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।
वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका एक पुरुष तथा १ युवतीलाई रोकेर आफन्त नेपालका कर्मचारीसमेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार क्रममा तामाङले वीरगन्ज नजिक कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनी प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले ती युवतीलाई भारततर्फ लैजाँदै गरेको देखिन आएको प्रहरीले जनाएको छ ।
तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपि सुवास भट्टले जानकारी दिए ।
