१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

वैशाख २०, २०८२

रासस

Even after 13 years, Kamala bridge was not built, preparations to break the contract

सिरहा — हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।

निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । 

‘सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो । तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ । म्याद थपको लागि निवेदन पनि दिएको छैन’, उनले भने, ‘सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ ।’

यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले निर्माण सम्झौता र कारबाही प्रक्रिया के हुने भन्नेबारेमा निर्देशनालयले कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए । 

पुलको निर्माणको अन्तिम चरणमा रहेको बेला बाढीले क्षति पुर्‍याएपछि कम्पनीले क्षतिबापत बिमाबाट पाउनुपर्ने आठ करोड रकम नपाएपछि आफूहरू अदालत जानुपरेको निर्माण कम्पनीका ‘लुम्बिनी बिल्डर्स’ का ‘साइट इञ्चार्ज’ सुदीप थापाको भनाइ छ । उक्त रकम प्राप्त नगर्दा आर्थिक अभावले पुल निर्माणको बाँकी काम रोक्नुपरेको उनले जानकारी दिए । 

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ । ‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो । यसबीचमा अन्तिमपटकका लागि ०८२ असारसम्मको थपिएको म्याद पनि त्यत्तिकै गुज्रिएको छ । 

स्थानीयले वर्षौंदेखि कमलामा काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ सास्ती भोग्नुपरेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यावदले बताए । उनका अनुसार सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा रू एक सय तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तै आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुनेछ । 

तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । सम्पन्न भई उद्घाटनको तयारी भइसकेको अवस्थामा कमला नदीमा आएको बाढीले भासिएको अलपत्र पुलको पुनः निर्माण कार्यमा ढिलाइ मात्र भएको छैन, पुल बन्नेनबन्ने अनिश्चित भएको छ ।

रासस

Link copied successfully